उर्लाबारी । मोरङको उर्लाबारी वडा नं. ७ की जनप्रतिनिधि मनमाया तामाङले आफुले पाएको सेवा सुविधा वापतको रकम क्यान्सर पीडितलाई सहयोग गर्नुभएको छ ।
उर्लाबारी वडा नं. ७ की महिला सदस्य तथा कार्यपालिका सदस्य तामाङले आफ्ना छोरा सुमन तामाङको जन्मदिनको अवसरमा आफुले पाएको सेवासुविधामा थप केही रकम थपेर क्यान्सर पीडितलाई सहयोग गर्नुभएको हो । उर्लाबारी–७ का क्यान्सर पीडित सविन श्रेष्ठलाई सहयोग गर्दै उहाँले आर्थिक अवस्था ज्यादै कमजोर र उपचारमा समस्या भएकाले सानो सहयोग गरेको बताउनुभयो । सबैलाई साथ र सहयोग गर्न पनि उहाँले अपिल गर्नुभयो । जनप्रतिनिधि तामाङका छोरा सुमन ब्रिटिस आर्मीमा कार्यरत रहनुभएको छ । उहाँका श्रीमान सन्त योञ्जन तामाङले पनि आर्थिक अवस्था कमजोर भएका परिवारलाई सहयोग गर्दै आउनुभएको छ ।
श्रेष्ठ परिवारलाई सहयोगको खाँचो
उर्लाबारी–७ का सविन श्रेष्ठ क्यान्सर रोगसँग लडिरहनुभएको छ । क्यान्सरको उपचारको क्रममा भएभरको सम्पति बेचेर उपचार गरेपनि निको भएको छैैन । स्थानीय जमुना राईको नेतृत्वमा ९ लाख रुपैयाँ भन्दा बढी रकम संकलन गरी श्रेष्ठको उपचार भइरहेको छ । तर, अझै रकमको अभाव छ । पैसाको अभावका कारण उपचार गर्न समस्या भएको अभियान्तासमेत रहनु भएकी जमुना राईको भनाई छ । उर्लाबारी वडा नं. ७ की वडाध्यक्ष उर्मिला थापाले पनि सबैलाई साथ र सहयोग गर्न अपिल गर्नुभयो । क्यान्सर पीडित श्रेष्ठले सहयोगदातालाई धन्यवाद प्रकट गर्दै थप सहयोगका लागि अनुरोध गर्नुभएको छ ।























