काठमाडौं, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर ४ को चुनावपछि प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि आन्दोलन गर्नुपर्ने बताएका छन्।

आइतबार माओवादी केन्द्रको बागमती प्रदेश कमिटी बैठकमा बोल्दै प्रचण्डले चुनाव अघि त्यो सम्भावना नरहेको बताए।

चुनावपछि प्रत्यक्ष कार्यकारी राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणालीका लागि आन्दोलन गर्न तयार हुनसमेत प्रचण्डले निर्देशन दिएको माओवादी केन्द्रका बागमती प्रदेश कमिटी अध्यक्ष सरल सहयात्रीले बताए।

प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि संविधान नै संशोधन गर्नुपर्छ।

प्रचण्डले अहिलेकै गठबन्धनबाट निर्वाचन लड्ने समेत बताएका थिए। उनले कांग्रेससँग अविश्वास र नेकपा एकीकृत समाजवादीसँग अफ्ठ्यारो भए पनि त्यसलाई मिलाएर अघि बढ्नु पर्ने बताएका थिए।

कांग्रेसले परिस्थिति नबुझे एमाले बाहेकको वाम गठबन्धन हुने उनको चेतावनी छ।

‘हामीसँग पनि चुनाव लड्ने क्षमता छ। सत्तामा रहेका वाम दलहरू एक ठाउँमा आउनुपर्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अनिल शर्माले भने,‘सत्ता गठबन्धनमै पनि एकातिर कांग्रेस छ भने अर्कोतिर हामी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा लगायतका वाम दलहरू छौं। त्यसैले हामी पनि अघि बढ्न सक्छौं।’

यस्तो धारणा राखे पनि प्रचण्डले गठबन्धन गरेर अघि बड्नु पर्नेमा पटक-पटक जोड दिएका थिए। उनले कांग्रेस सहितकै गठबन्धन हुनेसमेत बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय