उर्लाबारी । मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनको मितितय भइसकेको छ । पार्टीका प्रभावशाली नेता नेता तथा कार्यकर्ता भेटघाट र टिकटका लागि दौडधुप बढेको छ ।
यसैक्रममा मोरङका प्रभावशाली नेता तथा प्रदेश नं. १ का सह–महामन्त्री खड्ग फागोले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गर्नुभएको छ । मोरङको राजनीतिक अवस्था, टिकट वितरणलगायतका बारेमा सभापति तथा प्रधानमन्त्री देउवासँगको भेटमा कुराकानी भएको बुझिएको छ । मोरङ क्षेत्र नं. १ बाट फागोको नाम प्रतिनिधिसभाको उम्मेद्वारमा चर्चा आइरहेको छ । सोही क्रममा सभापति तथा प्रधानमन्त्री देउवासँगको भेटेपछि फागो टिकटका लागि दौडधुप गरिरहनुभएको त होइन भन्ने आशंका ब्यक्त गर्न थालेका छन् । तर, जानकार स्रोतका अनुसार फागो आफ्नो टिकटमा लागि भन्दा पनि सक्षम ब्यक्तिलाई टिकट दिनु पर्नेमा जोड दिइरहनुभएको छ । फागो देउवा–सिटौला समूहका प्रभावशाली नेता मानिनुहुन्छ । फागोसँगै मोरङ क्षेत्र नं. १ को प्रतिनिधिसभाको निर्वाचनमा जिल्ला सभापति डिकबहादुर लिम्बूको पनि नाम चर्चामा छ । २ मध्ये १ जना प्रतिनिधिसभाको उम्मेद्वार बन्ने पक्कापक्की छ ।























