उर्लाबारी । प्रदेश नं. १ का सडक पूर्वाधार तथा शहरी विकास मन्त्री हिमाल कार्कीले समृद्धि र विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
आज मोरङको उर्लाबारी–१ र मिक्लाजुङ–६ जोड्ने मिक्लु खोलाको पुल उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । मुलुक संघीयतामा गएपछि विकासले गति लिएको उहाँको भनाई छ । प्रदेश सरकारले जनहितको पक्षमा इमान्दारिताको साथ काम गरिरहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले उर्लाबारी किशान चौकदेखि मिक्लु खोलासम्मको सडक कालोपत्रेलाई प्राथमिकता साथ अघि बढाउने बताउनुभयो । सो क्रममा उहाँले उर्लाबारी चौक–मधुमल्ला सडक कालाेपत्रेका बारेमा पनि गम्भिरतापूर्वक प्रदेश सरकारले अघि बढाउने प्रतिबद्धता जाहेर गर्नुभयो । लावा खोला खानेपानीका विषयमा पनि प्रदेश सरकारले ध्यान दिने मन्त्री कार्कीले बताउनुभयो ।
कार्यक्रममा मोरङ क्षेत्र नं. १ क का सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल) ले जनताको हितबाहेक आफुले केही नसोचेको बताउनुभयो । मोरङ क्षेत्र नं. १ को विकास र समृद्धिका लागि आफुले निरन्तर पहलकदमी गरेको उहाँले उल्लेख गर्नुभयो । कार्यक्रममा मिक्लाजुङ वडा नं. ८ का वडाध्यक्ष प्रवेश कुँवर, उर्लाबारी उद्योग बाणिज्य संघका कानुनी सल्लाहकार विनोद न्यौपानेलगायतले बोल्नुभयो ।
बैशाख १५, २०७६ मा आर्थिक ममिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले पुलको शिलान्यास गर्नुभएको थियो । मोरङको उर्लाबारी–१ र मिक्लाजुङ–६ जोड्ने मिक्लु खोलामा पुल नहुँदा बर्षामा खोलाबाढीको कारण सास्ती खेप्नु पर्ने बाध्यता थियो । त्यसको अन्त्यका लागि प्रदेश सांसद लिम्बूको पहलकदमी गर्नुभएको थियो । प्रदेश सांसद् लिम्बूको विशेष पहलमा प्रदेश सरकारको बजेटमा सो ठाउँमा पुल निर्माण भएको छ । ८६.६० मिटर लम्बाईको सो पुलको महाविर–किँरातेश्वर जे.भी. सुकेधारा काठमाण्डौले सात करोड २५ लाख ४९ हजार ७६० रुपैयामा ठेक्का लिएको थियो ।
पुल निर्माण भएपछि उर्लाबारी हुँदै टाँडी जाने यात्रु तथा सर्वसाधारणलाई सहज भएको छ । पुल निर्माणसँगै बर्षाको समयमा जोखिमपूर्ण तरिकाले यात्रा गर्नु पर्ने बाध्यता हटेको छ ।























