उर्लाबारी । बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट नेकपा एमालेतर्फ गंगाप्रसाद खरेल उर्लाबारी नगरपालिकाको मेयरमा निर्वाचित बन्नुभयो । नेपाली कांग्रेसका खड्ग फागोलाई हराउँदै उर्लाबारी नगरपालिकाको दोस्रो मेयर बन्ने अवसर खरेलले पाउनुभयो । प्रथम मेयर फागोलाई हराएपछि खरेलको चर्चापरिचर्चा भयो ।
खरेल मेयरमा निर्वाचित भएको लगभग सय दिन पुगेको छ । तर, जनताले अनुभूति हुने खालको काम देखिएको छैन । एमालेका नेता तथा कर्मचारीको घेरालाई तोड्न नसकेको कारण मेयर खरेलले प्रभावकारी काम देखाउन नसकेको जानकारहरु बताउँछन् । खरेल इमान्दार छबी भएका सामाजिक ब्यक्तित्व भएपनि आसेपासेको हालिमुहाली प्रष्टै देखिन्छ । त्यसलाई मेयर खरेलले तोडेर अघि बढ्न सकेको खण्डमा उर्लाबारी श्रीबृद्धि हुने सम्भावना छ । किन भने खरेललाई उर्लाबारीको हितमा काम गर्ने तीब्र इच्छा छ । खरेलले ब्यवसाय सञ्चालन गर्दा समेत सामाजिक हित राखेको काम गरेको पाइन्छ । उर्लाबारी–७ मा जग्गा प्लटिङ गर्ने क्रममा नाफाको केही रकमबाट सामाजिक हितका लागि उर्लाबारी परोपकार आश्रम निर्माण गर्नुभएको छ । सो आश्रममा सुविधा सम्पन्न भवन छ । निकट भबिष्यमा बृद्धा आश्रम बनाउने खरेलको इच्छा रहेको बताइएको छ । सो आश्रममा हाल ४० जना हाराहारीमा आमाहरु दैनिक आउने गर्नुहुन्छ । यो मात्र होइन उर्लाबारी–७ कै नमूना बाल गृह तल्लो भागमा समेत प्लटिङ गर्दा सार्वजनिक भवन निर्माण गर्नुभएको छ भने बाल गृहमा पनि ठूलो सहयोग गर्नुभएको छ । उहाँको नीति नै कमाएको केही रकम सेवामा लगाउनु पर्छ भन्ने हो । साथीभाईसमेतलाई सामाजिक सेवामा लाग्न प्रेरित गर्ने गर्नुहुन्छ । यसैकारण पनि मेयर खरेलमाथी उर्लाबारीबासीको ठूलो आशा र भरोसा रहेको पाइन्छ ।
उर्लाबारी नगरपालिकामा मेयर खरेलको पक्षमा बहुमत छ । जसका कारण पनि काम गर्न खरेललाई सहज छ । उर्लाबारीको विकास र समृद्धिमा महत्वपूर्ण योगदान पु¥याउन सक्ने सुवर्ण अवसर मेयर खरेलले गुमाउनु हुँदैन । १०० दिनको अनुभवबाट अब आक्रमक रुपमा उर्लाबारीको हरेक क्षेत्रको विकासमा लाग्न जरुरी छ । मेयर खरेलले भोली बुधबार १ सय दिनको उपलब्धि र आगामी दिशाका बारेमा पत्रकार भेटघाट कार्यक्रम गर्ने तय भएको प्रेस संयोजक मिलन के राउतले जानकारी दिनुभयो ।























