विराटनगर । मोरङको कानेपोखरीमा लाग्दै आएको कानेपोखरी महोत्सवमा जुवाजन्य खेल हुने गरेको छ । उक्त महोत्सवमा प्रहरीकै संरक्षणमा जुवाजन्य खेलहरु हुने गरेको पाइएको हो ।
कानेपोखरी गाउँपालिका –६, स्थित रमाइलो चोकमा भदौ १२ गतेदेखि ‘शैक्षिक कृषि एवम् पर्यटन प्रवर्धनका लागि’ भन्ने नारा सहित रमाइलो युवा परिवार, कानेपोखरी व्यापार संघ, जेसीज रमाइलो र लायन्स क्लब अफ कानेपोखरीको संयुक्त आयोजनामा महोत्सव सुरु भएको थियो । स्विकृत खेलहरु बाहेका अरु कानुनले प्रनिबिन्धत खेलहरु नरहने आयोजकले पत्रकार सम्मेलनमा बताएपनि लक्की सेभेनलगायतका जुवाजन्य खेलहरु भइरहेका छन् ।
लक्की सेभेनलगायत खेलमा ठूलो हारमार हुने गरेको मेला भर्न आएका केही स्थानीय वासिन्दाले बताएका छन् । महोत्सवमा जुवाका पारखीहरुको बाक्लो भिड लाग्ने गरेको हुँदा दैनिकजसो ठूलो रकमको हारजित हुने गरेको छ । प्रहरीको उपस्थिति मेला स्थलमा समेत बाक्लै देखिन्छ । यद्यपी खुलेआम जुवा खेलाइने गरिएको छ । प्रहरीले समेत मेलाबाट रकम बुझ्ने गरेको जानकार स्रोत बताउँछ । यस बारेमा मेला आयोजक समितिसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।























