उर्लाबारी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि नेकपा एमालेले तयारी थालिसकेको छ । उम्मेद्वार छनौटका लागि आन्तरिक तयारी गरिरहेको छ ।
यसैक्रममा मोरङ क्षेत्र नं. १ मा वर्तमान सांसद घनश्याम खतिवडा र डा. शिवमाया तुम्वाहाम्फेको आकांक्षा देखिएको छ । एमालेले यसअघि समानुपातिकमा सांसद बनेकालाई पुनः समानुपातिकमा नदोहो¥याउने निर्णय गरेपछि मोरङ क्षेत्र नं. १ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ तुम्बाहाम्फेको पल्लाभारी बनेको छ । स्थायी कमिटी सदस्य तुम्वाहाम्फे र प्रदेश सदस्य खतिवडा दुबै पार्टी अध्यक्ष केपी ओलीका विश्वासपात्र हुनुहुन्छ । विराटनगर निवासी तुम्बाहाम्फेको उर्लाबारी वडा नं. ५ मा मतदाता नामावली रहेको छ ।
त्यस्तै, मोरङ क्षेत्र नं. १ क को उम्मेद्वारमा जिल्ला सचिब रुपेश खतिवडा बन्ने देखिएको छ । एमाले नेता पुष्प ढकाल, उमाकान्त गौतमलगायतको आकांक्षा रहेपनि यस पटक खतिवडाले टिकट पाउने पक्कापक्की रहेको जानकार स्रोत बताउँछ । विगतमा पनि खतिवडाले प्रदेश सांसदमा दाबी गर्नुभएको थियो । तर, माओवादीसँग गठबन्धन भएपछि खतिवडा पछि हट्नु परेको थियो ।
त्यस्तै, मोरङ क्षेत्र नं. १ ख मा डिल्ली शर्मा अधिकारी प्रदेशसभा सदस्यको उम्मेद्वार बन्ने सम्भावना रहेको बुझिएको छ । सो क्षेत्रमा खड्ग बस्नेतको पनि आकांक्षा रहेको छ । तर, विगतमा पनि पार्टीले अधिकारीलाई टिकट नदिएको कारण असन्तुष्टी उत्पन्न भएको थियो । त्यस्तै, सो क्षेत्रमा घनश्याम खतिवडा पनि प्रदेश सभा सदस्यको उम्मेद्वार बन्न सक्ने सम्भावना छ । प्रदेश सरकार एमालेको भन्दा महत्वपूर्ण जिम्मेवारी दिने गरी प्रदेशसभा सदस्यको उम्मेद्वार बनाउन सक्ने स्रोतको दाबी छ । तर, खतिवडाको दाबी प्रतिनिधिसभा सदस्यतर्फ प्रत्यक्षमै देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय