उर्लाबारी । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मोरङ क्षेत्र नं. १ (क) मा नेकपा एमालेबाट प्रत्यक्षमा जिल्ला सचिब खतिवडासहित ७ जनाले दाबेदारी प्रस्तुत गर्नुभएको छ ।
उर्लाबारीमा आज भएको बैठकमा प्रदेशसभा सदस्यमा प्रत्यक्षतर्फ ७ जना र समानुपातिकतर्फ ४ जनाको नाम प्रस्ताव भएको हो । प्रत्यक्षमा नेकपा एमालेका जिल्ला सचिव समेत रहनुभएका खतिवडासहित पुष्प ढकाल, उमाकान्त गौतम, निरोज तिम्सिना, चन्द्रबहादुर भट्टराई (भरत), गोपाल बस्नेत र देवीप्रसाद आचार्यको नाम प्रस्ताव भएको छ । प्रस्ताव हुनुभएका आकांक्षीहरुबीच भोली पुन एकपटक छलफल गरेर नाम सिफारिस गर्ने जिल्ला सचिवालय सदस्य एवम् मोरङ १ (क) प्रदेश संयोजक अग्नीप्रसाद भट्टराईले जानकारी दिनुभयो । यस्तै समानुपातिकमा रामकृष्ण राई, सरला राई, इन्दिरा गौतम र अम्बर धिमालको नाम प्रस्ताव भएको छ । बैठक एमाले केन्द्रीय अनुशासन आयोग सदस्य लक्ष्मीदेवी भण्डारीको प्रमुख आतिथ्यतामा भएको थियो ।























