उर्लाबारी । नेकपा माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य गोपी अछामी एमाले उम्मेदवारको चुनाव प्रचार गरेको भन्दै विवादमा परेका छन् ।
राष्ट्रियसभा सदस्यसमेत रहेका अछामीले मोरङ–४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार सिफारिस भएका एमाले नेता विनोद ढकाललाई सहयोग पुग्ने गरी फेसबुकमा पोष्ट गरेपछि विवाद भएको हो । एमाले क्षेत्रीय समितिले आइतबार मोरङ–४ बाट ढकालको नाम सिफारिस गरेको थियो ।
सोही क्षेत्रबाट माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं हालका सांसद अमनलाल मोदी एकमतले सिफारिस भएका छन् । एउटै पार्टीमा भएर पनि मोदीबारे मौन रहेको र ढकाललाई फेसबुकमार्फत शुभकामना दिएको भन्दै अछामीमाथि कारबाहीको माग भएको छ । अछामले पार्टी फरक भए पनि ढकालको सफलतामा आफू बेखुसी नहुने लेखेका छन् । ‘पार्टी फरक भए पनि तपाईंको सफलतामा म कहिल्यै बेखुस हुने छैन, हार्दिक बधाई छ कमरेड’, ढकालसँगै बसेको तस्बिर राखेर अछामीले लेखेका छन् ।
अछामीले ढकालका बारेमा अर्को पनि पोष्ट गरेका छन् । लेखेका छन्, ‘नेकपा एमाले मोरङ क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा उम्मेदवारमा सर्वसम्मत सिफारिस हुनुभएकोमा मित्र विनोद ढकालज्यूलाई हार्दिक बधाई तथा विजयको लागि शुभकामना ।’
सिन्धुलीका बासिन्दा अछामी माओवादीबाट मोरङको राजनीति गर्दै आएका छन् । आफ्नै पार्टीका नेता मोदीका प्रतिस्धर्पीलाई जितको शुभकामना दिएपछि उनको विरोध भइरहेको छ ।
माओवादी केन्द्र प्रदेश–१ का नेता ताजिम अन्सारीले अछामीले विपक्षीको चुनाव प्रचार गरेकाले कारबाही गर्न पार्टीमा सिफारिस गरिने बताए ।
























