दमक। झापाको दमक नगरपालिका वडा नम्बर १० मा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको जग्गा व्यवस्थापनका लागि सोमबारबाट जग्गाको नापजाँच कार्य सुरु भएको छ । वडा नम्बर १० नलबारी क्षेत्रका जग्गाको ब्लक निकाल्ने र कित्ताकाट गर्ने काम सुरु गरिएको हो ।
वडा नम्बर १० का भूमिहीन दलित १३, भूमिहीन सुकुम्बासी १६० र अव्यवस्थित बसोबासीहरु ३६६ गरि ५ सय ३९ जनालाई यस अघि जग्गाको निस्सा वितरण गरिएको थियो ।
उनीहरुको जग्गा दाबीमा नियम अनुसार सूचना निकाल्दा कसैबाट पनि दाबी बिरोध नपरेकाले वडा सहजीकरण समितिले नगरपालिकामा सिफारिस गरेको वडाअध्यक्ष राजेन्द्र भण्डारीले जानकारी दिए ।
वडा सहजीकरण समितिबाट सिफारिस भई आएकाहरुको नगर सहजीकरण समितिले सिफारिस गरेर राष्ट्रि«य भूमि आयोगमा बुझाएको आयोगको दमक सेवा केन्द्र प्रमुख डम्बर बरालले जानकारी दिए । अब कित्ताकाट गरि जग्गा छुट्याएर भूमि आयोगलाई सिफारिस गर्ने र भूमि आयोगले धनिपुर्जा वितरण गर्ने बरालले बताए । निस्सा प्राप्त गरेका भुमिहिनहरुले जग्गाको धनिपुर्जा पाउने चरणमा पुगेको उनले बताए ।























