पथरी । लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्र लावतीलाई सर्बसाधारण नागरिकले भेट गर्नै मुस्किल परेको गुनासो गरेका छन् ।
नगरपालिकाको प्रमुखको कार्यकक्षमा पुग्ने जो कोही पनि त्यहाँ रहेका सुरक्षा गार्ड र उनका सहयोगीको असहयोगले प्रमुख लावतीसंग भेटघाट गर्न गाह्रो भएको बताउने गरेका छन् । कोठाभित्र रहेका प्रमुख लावतीसंग जनसवालका बिषय लिएर पुग्ने नगरबासीको समस्या टेबलसम्म पुग्न नै हम्मे परेको लेटाङका एक स्थानियबासीले बताएका छन् । उनले भने –‘मेयर भेट्न पनि राजा महाराजा जस्तै भएको छ । मेयरको कोठा हमेशा खुल्ला रहनु पर्ने र सर्बसाधारणको पहुँच मेयरसम्म हुनु पर्नेमा लेटाङमा त्यस्तो देखिँदैन ।’ प्रमुख लावतीसंग भेट गर्न पुग्ने जो कोहीलाई पनि एक आधा घण्टा कुराईदिने गरेको अर्का स्थानीयको भनाई छ । सो बारे जानकारी लिन मेयर लावतीलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।























