विराटनगर : नेकपा एमालेमा मोरङ जिल्लाबाट उम्मेदवार सिफारिस गर्ने क्रममा पार्टी अध्यक्ष केपी ओलीस“ग वर्षौदेखि निकटहरू मात्र सम्बन्धित क्षेत्रीय कमिटीबाट सर्वसम्मत सिफारिसमा भएका छन् । पछि गुट परिवर्तन गरेर एमालेमा रहेकाहरू भने त्यो सुविधाबाट वञ्चित भएका छन् ।
एकमात्र उम्मेदवार सिफारिसमा पर्न सक्ने अनुमान गरिएका पार्टी स्थायी कमिटी सदस्य लालबाबु पण्डित मोरङ क्षेत्र नम्बर ६ बाट सर्वसम्मत हुन सकेनन् । त्यस्तै, मोरङ क्षेत्र नम्बर १ बाट घनश्याम खतिवडा पनि सर्वसम्मत हुन सकेनन् । एमालेभित्र यी दुवै जना केपी ओलीका शुद्ध अनुयायीका रुपमा चिनिदैनन् ।
कहिले कुन गुट गर्दागर्दै दुवै जना पछिल्लो समय ओली गुटमा अडिएका हुन् । आयातित गुटको भएका कारण दुवै जनाको निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिसमा अरु नाम पनि थपिएका छन् । जबकि ओली गुट भनिएर चिनिएकाहरू ऋषिकेश पोखरेल, भानुभक्त ढकाल र विनोद ढकाल क्रमशः मोरङको निर्वाचन क्षेत्र २, ३ र ४ बाट एकमात्र उम्मेदवारको रुपमा सिफारिस भएका छन् ।
पोखरेल एमाले मोरङका अध्यक्ष हुन् । भानुभक्त स्थायी कमिटी सदस्य र विनोद केन्द्रीय कमिटी सदस्य हुन् । अर्का स्थायी कमिटी सदस्य लालबाबु पण्डित यसअघि आफैले जितेको निर्वाचन क्षेत्र नम्बर ६ मा एकल उम्मेदवारको रुपमा सिफारिसमा पर्न सकेनन् । उनलाई टक्कर दिन निजी विद्यालयको छाता संगठन प्याब्सन नेपालका पूर्वअध्यक्ष टीकाराम पुरीलाई ओेली समूहले अघि सारेको छ ।
पण्डितको निर्वाचन क्षेत्रम पुरीको पनि सम्भावित उम्मेदवारका रुपमा नाम सिफारिस भएको छ । एभरेष्ट स्कूलका संस्थापक पुरी पार्टी केन्द्रीय सदस्य विनोद ढकालका व्यवसायिक पार्टनर पनि हुन् । उनी पनि ढकालझै ओली गुटमा प्रखर रुपले संलग्न छन् । स्रोतका अनुसार, पुरीको नाम सिफारिसका लागि सिफारिस मात्र भएको छैन ।
एउटा डिजाइनसहित सिफारिस भएकाले पुरीलाई उक्त निर्वाचन क्षेत्रमा बलियो उम्मेदवारका रुपमा हेरिएको छ । ‘कुनै प्रकारको बखेडा खडा गरेर पण्डितलाई पुरानो क्षेत्र छाड्न लगाउने र आफ्ना मान्छे सेट गर्ने उद्देश्यसहित नाम आएको छ’ स्रोतले भन्यो ।
यस्तै, मोरङ क्षेत्र नम्बर १ बाट यसअघि चुनाव जितेका घनश्याम खतिवडाले यस पटक सो क्षेत्रमा शिवमाया तुम्वाहाम्फेसँग बलियो सामना गर्नुपर्ने देखिएको छ । एमालेभित्र तुम्वाहाम्फे केपी ओली समूहकी ‘हार्डलाइनर’ हुन् भने खतिवडा पछिल्लो समयको अड्को पड्को तेलका धूप मात्रै हुन् । क्षेत्र नम्बर १ मा खतिवडा र तुम्वाहाम्फेसहित पाँच जना सिफारिस भएका छन् ।
उद्घोष दैनिकबाट साभार























