उर्लाबारी । मोरङको उर्लाबारीमा प्रादेशिक औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव सुरू भएको छ । शनिबार एक कार्यक्रमका बीच प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मत कार्कीले महोत्सवको उद्घाटन गर्नुभयो ।

उर्लाबारी उद्योग वाणिज्य संघको आयोजनामा २९ गतेसम्म सञ्चालन हुने महोत्सवमा नेपाललगायत भारत, पाकिस्तान र बंगलादेशका गरी १७० स्टल राखिएको महोत्सव आयोजक समितिका संयोजक चन्द्रबहादुर भट्टराई भरतले जानकारी दिनुभयो । यस क्षेत्रको व्यापार, व्यवसायलाई चलायमान बनाउन महोत्सव आयोजना गरिएको उहाँको भनाई छ ।
उद्घाटन कार्यक्रममा मुख्यमन्त्री कार्कीसहित प्रदेश सांसदहरु उमाकान्त गौतम, शोभा चेम्जोङ पालुङ्वा, उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल, पूर्व सांसद घनश्याम खतिवडा, विर्तामोड उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कुमार भट्टराई, जसपा नेपाल उर्लाबारीका अध्यक्ष मात्रिका धिमाल, सहकारी सञ्जाल उर्लाबारीकी अध्यक्ष सीता कार्कीलगायतले शुभकामना मन्तव्य राख्नुभयो । सो अवसरमा उर्लाबारीमा रहेका १७ जनजातिका सांस्कृतिक नृत्य समेत प्रस्तुत गरिएको थियो । ९ दिनसम्म सञ्चालन हुने महोत्सवमा दुई लाख दर्शकले अवलोकन गर्ने र २५ करोडको कारोबार हुने अपेक्षा गरिएको आयोजक समितिका सह–संयोजक प्रितम खड्गीले जानकारी दिनुभयो । उत्पादक र उपभोक्ताबीच सुमधुर सम्बन्ध कायम गर्ने हेतुले आयोजना गर्न लागिएको महोत्सवमा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगका अतिरिक्त विदेशका वस्तुहरु र पहाडी जिल्लाका खनिजजन्य, स्थानीय कृषिजन्य र अन्य उत्पादनका स्टल राखिएको महासचिब हेमराज गुरुङले जानकारी दिनुभयो । उर्लाबारी–४ नगरपालिका कार्यालय पूर्वपट्टि महोत्सव सञ्चालन भइरहेको छ ।























