सङ्घीय युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले नेपाली जनतालाई सुख, सुविधा तथा सेवा उपलब्ध गराउन सबैले मिलेर काम गर्नुपर्ने बताउनुभएको छ ।
दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरद्वारा आज यहाँ आयोजित पुरस्कार तथा सम्मान कार्यक्रमका अवसरमा रु ५१ हजार राशिको राष्ट्रिय भाषा पुरस्कारबाट सनत रेग्मी र रु २५ हजार राशिको राष्ट्रिय पत्रकारिता पुरस्कारबाट अनन्तराज न्यौपानेलाई सम्मानित गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले जनतालाई विकासको अनुभूति गराउन सर्जक एवं पत्रकारले कलमको माध्यमबाट राजनीतिकर्मीलाई मार्गचित्र देखाउन आग्रह गर्नुभयो ।
मन्त्री लिम्बूले प्रतिष्ठानले युवा, महिला तथा मजदुरको लागुपदार्थ दुर्व्यसनी अन्त्य, सीप, स्वरोजगार एवं चेतनावृद्धि गर्ने कार्यमा अन्य सङ्घ संस्थाको सहकार्यमा गर्नुपर्नेमा जोड दिनुभयो ।उहाँले वर्तमान सरकारले न्यूनतम साझा सहमतिको आधारमा मुलुकमा सुशासन हुने विभिन्न कार्य गरिरहेको विचार व्यक्त गर्नुभयो ।
मन्त्री लिम्बूले मुलुकको समृद्धिका लागि राजनीतिक क्षेत्रको सुदुढीकरण आजको आवश्यकता भएकाले यसका लागि सञ्चारकर्मीले कलम चलाउन पर्ने बताउनुभयो । सङ्घीय सांसद ऋषिकेश पोखरेल र प्रदेशसभा सदस्य केदार कार्कीले प्रजातन्त्र र लोकतन्त्र स्थापनामा साहित्यकार एवं सञ्चारकर्मीहरुको ठूलो भूमिका खेलेको चर्चा गर्नुभयो ।
प्रतिष्ठानका अध्यक्ष शरदराज सुवेदी, नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य महेश रेग्मी, नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउत, साहित्यकार गङ्गा सुवेदी, पुरस्कृतद्वय रेग्मी र न्यौपानेले आगामी दिनमा साहित्य क्षेत्रको विकासका लागि विद्यालयस्तरमा विभिन्न गतिविधि गर्नुपर्ने विचार राख्नुभयो ।























