उर्लाबारी । मोरङको मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष दिनेश पौडेलले जनप्रतिनिधिको हैसियतमा सुविधावापत पाएको रकम सामाजिक काममा खर्च गर्ने हुनुभएको छ ।
निर्वाचन ताका जनप्रतिनिधिमा निर्वाचित भएपछि जनप्रतिनिधिको हैसियतमा पाएको सेवा सुविधा सामाजिक काममा खर्च गर्ने घोषणा गर्नुभएको थियो । सोही अनुसार जनप्रतिनिधिमा निर्वाचित भएको १ बर्षमा प्राप्त ४ लाख ६६ हजार ५ सय ९० रुपैयाँको भौचर सार्वजनिक गर्दै सामाजिक हितमा प्रयोग गर्ने उपाध्यक्ष पौडेलले जानकारी दिनुभयो । शिक्षा, स्वास्थ्यलगायत सामाजिक क्षेत्रमा सो रकम खर्चिने उहाँले बताउनुभएको छ । निर्वाचन ताका लोकप्रियताका लागि सेवा सुविधा नलिने घोषणा गरेका कतिपयले भने जनप्रतिनिधिको हैसियतमा प्राप्त सुविधा लिइरहेका छन् । तर, मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष पौडेलले जम्मा भएको रकमको भौचरसहित सामाजिक हितमा प्रयोग गर्ने घोषणालाई सकारात्मक कदमको रुपमा दिन सकिन्छ । नेकपा माओवादी केन्द्रबाट निर्वाचित पौडेल युवा नेताको रुपमा स्थापित रहनुभएको छ ।























