उर्लाबारी । मोरङको उर्लाबारीमा साउन २८ गतेदेखि दादुरा–रुवेला विरुद्ध खोप अभियान सञ्चालन हुने भएको छ ।
आज उर्लाबारी नगरपालिकामा भएको नगर स्तरीय अभिमुखीकरण कार्यक्रममार्फत सो जानकारी गराइएको हो । उर्लाबारी नगरपालिका प्रमुख गंगाप्रसाद खरेलले खोप अभियान सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । दादुरा भयानक सरुवा रोग भएकाले यसलाई रोकथाम गर्नका लागि अहिले सरकारले सङ्क्रमण देखिएका जिल्लामा अभियान सुरु गरेको छ ।
नेपालमा चार प्रतिशत बालबालिकाले कुनै पनि खोप नलगाएको र २० प्रतिशत बालबालिकाले दोस्रो मात्राको खोप नलिएको पाइएको जनस्वास्थ्य निरीक्षक रेणुकाप्रसाद काफ्लेले जानकारी दिनुभयो । छ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई दादुरा र रुबेला विरुद्धको खोप लगाइने बताउँदै उहाँले खोप अभियान सञ्चालनका लागि हरेक वडा तहमा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको बताउनुभयो । खोप अभियान सञ्चालनका लागि हरेक विद्यालयलाई खोप केन्द्र बनाइएको छ । अभियान सुरु गर्नुअघि सरोकारवालसँग अभिमुखीकरण, खोप केन्द्रको तयारी, स्वास्थ्यकर्मीलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।























