आज (सोमबार) प्रतिनिधिसभाको बैठक बस्दै छ।
संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु हुने कार्यतालिका छ। आजको संसद् बैठकका लागि आठबुँदे सम्भावित कार्यसूची तयार पारिएको छ। जसमा टोपबहादुर रायमाझी सांसद पदबाट निलम्बन भएको जानकारी गराउनेदेखि प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्मा थुनामुक्त भएको जानकारी गराउनेसम्मका कार्यक्रम छन्। नक्कली भुटानी शरणार्थी प्रकरणका कारण एमालेका निलम्बित सचिव टोपबहादुर हिरासतमा छन् भने नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा पक्राउ परेका कांग्रेस सांसद शर्मा काठमाडौं जिल्ला अदालतको आदेशपछि शुक्रबार रिहा भएका छन्। सय किलो सुन प्रकरण छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गरिनुपर्ने अडान राख्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेले निरन्तर संसद् बैठक अवरोध गरिरहेका कारण टोपबहादुर निलम्बनबारे जानकारीलगायत थुप्रै काम/कारबाही रोकिइरहेका छन्।























