उर्लाबारी । नेपाली कांग्रेसकी केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले एमालेले संसद बन्धक बनाएर गलत अभ्यासको थालनी गरेको बताउनुभयो ।
मोरङको उर्लाबारीमा आज नेपाली कांग्रेसको आन्तरिक विशेष अभियानको पत्रकार सम्मेलनमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । भ्रष्टचार र सुन तस्करी प्रकरणमा दोषी देखिएका सबैलाई कार्वाही हुनु पर्छ भन्ने पक्षमा कांग्रेस रहेको बताउँदै उहाँले सहमति र सहकार्य गरेर अघि बढ्नु पर्ने अवस्थामा संसद अबरुद्ध गर्नु अलोकतान्त्रिक भएको टिप्पणी गर्नुभयो । संसद अबरुद्ध गरेर कुनै निकास नहुने बताउँदै उहाँले संवादबाट समस्या सुल्झाउन एमालेलाई आग्रहसमेत गर्नुभयो ।
सुन तस्करी होस् वा कुनै पनि भ्रष्टचारको विषयमा दोषी देखिएकालाई तथ्यका आधारमा कार्वाही गर्नु पर्छ भन्ने कुरामा कांग्रेस अडिग रहेको उहाँले बताउनुभयो । कसैले प्रतिशोध साध्ने हिसाबले काम गर्नु हुँदैन भन्ने कुरामा कांग्रेस सचेत रहेको र तथ्य, प्रमाणका आधारमा छानविन र कार्वाही हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले आन्तरिक विशेष अभियानको क्रममा मोरङ कार्यकर्ताहरुले आगामी निर्वाचनमा एक्लै लड्नु पर्ने सुझाव राखेको जानकारी दिनुभयो । अभियानको क्रममा पार्टीभित्र समन्वय नभएको, पार्टीभित्र आन्तरिक किचलोलगायतका विषयमा नेता तथा कार्यकर्ताहरुले आफ्नो धारणा राखेको उहाँले बताउनुभयो । अभियानले पार्टीका अन्तरिक कमीकमजोरी पत्ता लगाएर त्यसको सुधार गर्ने र पार्टीलाई गतिशील बनाउने उहाँको भनाई छ । समय र परिस्थिति अनुसार पार्टी अघि बढ्नु पर्ने उहाँले बताउनुभयो । नयाँ पार्टीहरुमा प्रवेश गरेका कार्यकर्ताहरु फर्किने क्रम पछिल्लो समयमा बढेको पनि उहाँले बताउनुभयो । ‘सामाजिक सञ्जालमा आउने धारणालाई नै आम धारणाको रुपमा लिने काम भइरहेको छ’ उहाँले भन्नुभयो–‘सामाजिक सञ्जालमा आएका भ्रमपूर्ण कुराहरु चिर्न जरुरी रहेको छ, मर्मादित, सत्य र तथ्य कुरामात्रै समाज ल्याउनु पर्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय