उर्लाबारी । मोरङको मिक्लाजुङ वडा नं. ५ का वडाध्यक्ष मेघनाथ तामाङले आफ्नो सेवा सुविधा बापतको रकमबाट अपाङ्गता भएका ब्यक्तिहरुलाई एम्बुलेन्स खर्च तिरिदिने हुनुभएको छ ।
तामाङले सूचना नै जारी गरी आफ्नो सेवा सुविधाबाट मिक्लाजुङ वडा नं. ५ भरीका अपाङ्गता भएका ब्यक्तिहरु बिरामी परेर उपचारका लागि लैजान एम्बुलेन्स खर्च वापतको रकम तिरिदिने जानकारी दिनुभएको हो । अपाङ्गता भएका ब्यक्तिहरु उपचार गर्न जान एम्बुलेन्स खर्च नै नभएर घरमै बस्नु पर्ने अवस्थाको अन्त्य गर्न आफ्नो सेवा सुविधाबाट प्राप्त रकमबाट उक्त कार्यको सुरुवात गरेको वडाध्यक्ष तामाङको भनाई छ । ‘मैले निर्वाचन जित्दा नै सरकारी सेवा–सुविधा जनताका लागि प्रयोग गर्ने योजना बनाएको थिएँ,’ उहाँले भन्नुभयो, ‘त्यो पाएको सेवा–सुविधाको रकमबाट अपाङ्गता भएका ब्यक्तिहरुको एम्बुलेन्स खर्च तिरिदिने ब्यवस्था मिलाएको छु ।’























