उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका वडा नं. ४ मा १ सय ४१ जना विपन्न परिवारको निःशुल्क बिमा गराइएको छ ।
उर्लाबारी नगरपालिका र उर्लाबारी वडा नं. ४ को कार्यालयले १२५ बिपन्न र १६ अपांगता भएका परिवारलाई निशुल्क स्वास्थ्य विमा गरिदिएको हो । उर्लाबारी नगरपालिकाले नगरभित्रका १९ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने कार्यक्रम अन्तरगत आज उर्लाबारी–४ बाट सुरुवात गरिएको छ ।
उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले स्वास्थ्यमा नगरबासीको पहुँच वृद्धि गर्न निःशुल्क बीमा कार्यक्रम सुरु गरेको बताउनुभएको छ । नगरका सबै वडाबाट सिफारिस भएर आएका बिपन्न तथा अपांगता भएका परिवारको स्वास्थ्य विमा गरिएको उहाँको भनाई छ । यस वर्ष नगरभरिका १९ सय परिवारको निःशुल्क स्वास्थ्य विमा गरिएको र आगामी वर्षहरुमा यसलाई बृद्धि गर्दै लैजाने नगर प्रमुख खरेलले बताउनुभएको छ । निष्पक्ष रुपमा वडाभित्रका बिपन्न र अपांगता भएका परिवारको स्वास्थ्य विमा गरिएको बताउनुहुँदै वडाध्यक्ष कल्याण राईले कोही छुटेको भएमा वडा कार्यालयमा सम्पर्क राख्न आह्वान समेत गर्नुभएको छ । आर्थिक रुपमा कमजोर भएका घरपरिवारलाई उपचारमा सहज पहुँच विस्तारका लागि उर्लाबारी नगरपालिकाले निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याएको छ । उपप्रमुख मिना खतिवडा पौडेल, कार्यपालिका सदस्य कृष्णमाया कडरिया, अमृता दासलगायले बोल्नुभएको थियो ।























