मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । ९३ सदस्यीय प्रदेशसभामा प्रदेश सांसदले विश्वासको मतका लागि मुख्यमन्त्री थापाले राखेको प्रस्तावको पक्षमा ४७ मत प्राप्त गर्नुभएको हो । विपक्षमा ३० मत परेको थियो ।
विश्वासको मत प्रयोजनका लागि ७७ जना उपस्थित हुनुभएको थियो । बैठकको अध्यक्षता गरेका कांग्रेस सांसद इस्राइल मन्सुरीले पनि मतदान गरेर बहुमत पुर्याइएको हो।
एमाले नेतृत्वको सरकारले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि थापा पहिलोपटक असार २१ गते कोशीको मुख्यमन्त्री बन्नुभएको थियो । त्यतिबेला थापाले मुख्यमन्त्री दाबी गर्दा सभामुख बाबुराम गौतमको हस्ताक्षर प्रयोग गरेपछि सर्वोच्चले उहाँको मुख्यमन्त्री नियक्ति बदर गरिदिएको थियो ।
पछि सभामुख गौतमलाई राजीनामा गराएर पुनः थापा मुख्यमन्त्री बन्नुभएको थियो । मुख्यमन्त्री बनेको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । सोहीअनुसार मुख्यमन्त्री थापाले आइतबार विश्वासको मत लिनुभएको हो ।























