उर्लाबारी । नेपाल सरकारले सन् २०३० सम्म सबै नेपालीलाई शुद्ध खानेपानी उपलब्ध गराउने योजना बनाएको छ । तर, मोरङको उर्लाबारीमा भने त्यसको तीन वर्षअघि अर्थात सन् २०२७ मै सबै उर्लाबारीबासीलाई खानेपानी वितरण गर्ने लक्ष्य लिइएको छ ।
उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले आगामी चार वर्षभित्रमा सबै नगरबासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्यका साथ तीब्र रुपमा कार्य गरिरहेको छ । अहिले उर्लाबारी–६ मा रहेका २ वटा, वडा नंं. १ को पिपलडाँगी, वडा नंं. ८ को अठियाबारी र उर्लाबारी ३ को मंगलबारेमा रहेका ट्याङ्कीबाट ७ हजार २ सय ६८ धारामार्फत शुद्ध पानी वितरण गरिँदै आएको संस्थाका कार्यालय प्रमुख राजु बुढाथोकीले जानकारी दिनुभयो । संस्थाले हालसम्म ३६८ किलोमिटर पाइपलाइन बिस्तार गर्दै उर्लाबारीका सबै वडाका साथै दमक १०, रतुवामाई १०, पथरीशनिश्चरे ५ का केही भागमा समेत पानी वितरण गर्दै आएको छ । उर्लाबारीको वडा नं. १, २ का अधिकांश भाग र वडा नंं. ८ र ९ का केही भागमा पाइपलाइन बिस्तार गर्न बाँकी रहेको कार्यालय प्रमुख बुढाथोकीले बताउनुभयो । चालु आर्थिक वर्षमा १ सय किलोमिटर पाइपलाइन बिस्तार गरी २ हजार धारा जडान गर्ने लक्ष्य रहेको संस्थाले जनाएको छ । साथै, २३ लाख ९१ हजार युनिट पानी उत्पादन गरी २० लाख युनिट वितरण गर्ने लक्ष्य लिएको उहाँले जानकारी दिनुभयो ।
हाल पाँच वटा ट्याङ्की सञ्चालनमा रहेका छन् । वडा नं. १ को लक्ष्मीझार, वडा नं. २ को गुरु गोरक्षनाथ र वडा नं. ९ दुर्गापुरीमा निर्माण भएका ट्याङ्की नगरपालिकामार्फत गत साउन १ गतेदेखि उर्लाबारी खानेपानीले जिम्मा लिएको छ भने उर्लाबारी–९ मा थप एउटा ट्याङ्की निर्माण भइरहेको छ । वडा नं. २ मा थप एक ट्याङ्की निर्माणका लागि डिपिआरको काम भइरहेको छ । यी सबै गरेर १० वटा ट्याङ्कीबाट सम्पूर्ण उर्लाबारीबासीलाई शुद्ध खानेपानी वितरण गर्ने लक्ष्यका साथ संस्था अघि बढेको अध्यक्ष चिन्तामणि पौडेलले बताउनुभयो । १० वटै ट्याङ्की निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि सबै उर्लाबारीबासीलाई खानेपानी उपलब्ध गराउन सकिने उहाँले बताउनुभयो ।
संस्थामा बिगत वर्षदेखि नै बृहत सहलगानी अन्तर्गत ३५ करोडको योजना सञ्चालनमा छ । यसको लागत रकममध्ये ७० प्रतिशत नेपाल सरकार र ३० प्रतिशत उपभोक्तामार्फत व्यहोरिएको छ । यस्तै, वडा नं. १ र २ मा खानेपानी विस्तारका लागि योजना परेको र डिपिआर निर्माणको कार्य भइरहेको कार्यालय प्रमुख बुढाथोकीले बताउनुभयो । यो योजना अनुसार वडा नं. २ मा खानेपानी ट्याङ्की निर्माण गर्ने र वडा नं. १ र २ मा पाइपलाइन बिस्तार हुनेछ । चालु आर्थिक वर्षबाट नै यो योजना सुरु हुने अपेक्षा गरिएको छ । संस्थाको कार्यक्षेत्रमा रहेका १९ हजार ५ सय ८९ घरधुरीका १ लाख ५ हजार ७८४ जनसंख्यामध्ये हाल ६१ हजार १४ उपभोक्तालाई शुद्ध पानी खुवाउन सफल भएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय