उर्लाबारी । झापाको दमकमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले तेस्रोलिङ्गी तथा पारलिङ्गी व्यक्ति र विविध लैङ्गिक प्रस्तुति भएका व्यक्तिले भेला भएर आफ्नो लैङ्गिक पहिचान प्रस्तुत गरी गाईजात्रा मनाएका छन् ।

लिड नेपाल झापाको आयोजनामा आज आफ्ना पहिचानमाथि गर्व गर्दै उत्सवको रुपमा सार्वजनिक उद्घोष गर्ने, मृत समुदायका व्यक्तिप्रति शोक प्रकट गर्ने र समुदायमाथि हुने लाल्छना विभेद घृणाविरुद्ध समुदायको अधिकारका लागि आवाज उठान गर्ने उद्देश्यले यस समुदायले गाईजात्रा पर्व मनाएको हो ।

गौरव यात्रा , गीत सङ्गीत तथा नाटकजस्ता सिर्जनात्मक प्रस्तुतीसहित उत्सव कार्यक्रम गरिएको छ । कार्यक्रममा कोशी प्रदेशसभा सदस्य गणेश उप्रेती ‘सुशिल’, दमक नगरपालिकाका प्रमुख राम थापा, माओवादी नेता गगन पुरीलगायतको उपस्थिति रहेको थियो । लिड नेपालकी कार्यक्रम संयोजक नुमा लिम्बू चञ्चलाले आफूहरूको मुख्य लडाइँ पहिचान र समावेशिताको भएको बताउनुभयो । उहाँले महिला, पुरुषसरह तेस्रो लिङ्गीलाई सम्मानजनक व्यवहार हुनुपर्ने भन्दै हरेक क्षेत्रमा आरक्षणको व्यवस्था गर्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले आफूहरूले हरेक क्षेत्रमा अपमान र विभेद झेल्नुपरेको पीडा सुनाउँदै भन्नुभयो, ‘समाजमा अरूले जस्तै सम्मानजनक रूपमा बाँच्न पाउनुपर्नेछ ।’

उहाँले घरपरिवार, विद्यालय, सार्वजनिक ठाउँ लगायत सबै क्षेत्रमा अपमानित र विभेदको शिकार हुनुपरेको बताउनुभयो । विसंं २०६४ पुस ६ गते सर्वोच्च अदालतले पहिचानका आधारमा तेस्रो लिङ्गीलाई नागरिकता दिनू भनी आदेश गरे पनि त्यो सहज नभएको उहाँको भनाई छ । कोशी प्रदेशभरीका तेस्रो लिङ्गीहरुको उल्लेखिय सहभागिता रहेको थियो ।























