उर्लाबारी । साधारणसभा कुनै पनि संघ संस्थाको सर्वोच्च निकाय हो । सामान्यतः अघिल्लो आर्थिक वर्षको सम्पूर्ण गतिविधि तथा कारोबारको अनुमोदनको लागि साउन महिनादेखि असोजसम्ममा साधारणसभा गरिसक्नु पर्ने कानुनी प्रावधान छ ।
निजी र सरकारी पछि देशकै अर्थतन्त्रको एउटा ठूलो क्षेत्र सहकारी संस्थाहरुको यतिबेला धमाधम वार्षिक साधारणसभा भइरहेका छन् । संस्थागत विकासको निम्ति मार्गनिर्देश गर्ने थलो साधारणसभाको बारेमा प्राथमिकताका साथ सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा समाचार आइरहेकाले पनि वास्तविक रुपमा साधारणसभाको अर्थ तथा महत्व पुष्टि हुन्छ । भए गरिएका कामहरुको समीक्षा गर्दै आगामी वर्षको कार्यक्रमको योजना बनाउने र त्यसको कार्यान्वयनको जिम्मेवारी प्रदान गर्नु साधारणसभाको प्रमुख उद्देश्य रहन्छ । र, सोही साधारण सभाबाटै आम शेयर सदस्यको गुनासा, जिज्ञासा र सुझाव सहितको दस्तावेजबाट संस्थाको कार्यदिशा बन्छ ।
धेरैजसो सहकारीको साधारणसभाको दृश्यले सहभागिता र अनुभवका आधारमा भन्नुपर्दा बहुसंख्यक संस्थाको साधारणसभा कर्मकाण्डी र औपचारिकतामा सीमित हुने गरेको छ । सहभागी संख्याको आधारमा शेयर सदस्यहरुको टाउको धेरै गन्ती गर्न सकिए तापनि संस्थाको नीति तथा कार्यक्रमप्रति अभिरुचि नहुने हुँदा हो–हल्ला र अतिथिहरुले अतिथिहरुलाई भाषण सुनाएर अस्तव्यस्त अवस्थामा साधारणसभा सम्पन्न हुन्छ । धेरै सदस्यहरुको ध्यान यातायात वापतको खर्च र मीठो खानेकुरामा बढी केन्द्रित हुनु र ऋण पाउनका लागि मात्र सदस्य बन्नु यो दुखलाग्दो अवस्था सृजना हुनुमा स्वयम् सहकारीकर्मीहरु जिम्मेवार छन् भन्दा गलत नहोला । कतिपय सहकारीले त १ सय रुपैयाँमै बचत खाता खोलेर शेयर सदस्यको संख्या बढी देखाएका छन् । १ सय रुपैयाँमा खाता खोलेर साधारणसभामा ५ सय यातायात भत्ता पाएपछि के बोल्नु ? एक शेयर सदस्य भन्छन् ।
शेयर सदस्यहरु नै सहकारी संस्थाको वास्तविक मालिक हुन् भन्ने कुरा बुझ्न र बुझाउन नसक्दा, सामान्य सहकारी सम्बन्धी नियम कानुनको बारेमा प्रशिक्षित गराउन नसक्दा सहकारीको साधारणसभा फितलो र औपचारिकतामा खुम्चनु परेको छ । दर्जनौँ अतिथिहरुको लाम लस्कर अनि सबैजनाले भाषण गर्नैपर्ने परिस्थिति बनाउनु, कहिले सहकारी नचिनेका अनि नबुझेकाबाट सहकारी बारेको दर्शन सुन्नुपर्ने र अनेकन क्रियाकलापले सहकारीको साधारणसभाको गरिमा घटाएको छ । अनावश्यक भाषणबाजी र ढर्राले समय खर्च हुने भएकाले अब यस्ता प्रकारका कार्यक्रम तालिकामा परिवर्तन आवश्यक छ । अतिथिहरुलाई सम्मानित रुपमा आसिन गराउनै पर्छ । तर, सबैले बोल्नै पर्छ भन्ने छैन । सहकारी बुझेको एकजना विज्ञ जो कार्यक्रमको प्रमुख अतिथि होस् र उसले मात्र सहकारीको बारेमा सुक्ष्म ढङ्गबाट स्पष्ट विचार राखोस् । यसरी अब उक्त परिपाटीको विकास सबै सहकारीहरुले गर्न सक्नु पर्दछ । अरु समय संस्थाको नीति तथा कार्यक्रममाथि छलफल गर्न सकियो भने मात्र साधारणसभाको सार्थकता रहन्छ ।
नेपालमा हजारौँको संख्यामा स्थापना भएका सहकारीहरुले देशको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको, थुप्रै रोजगारीका अवसरहरु सिर्जना गरेको, व्यवसाय र उद्यमशिलताको माध्यमबाट आत्मनिर्भर बनाउन सक्दा सर्वसाधारणमा सहकारी प्रतिको आकर्षण, आबद्धता र कारोबारमा वृद्धि भएको हो । तर, पनि सहकारीहरुले आफ्नो कुशल व्यवस्थापन गर्न सकिरहेका छैन । सहकारीहरु एक अर्का बीचका सहयोगी हुन् भन्ने सिद्धान्त र मान्यता भुलेर प्रतिस्पर्धामा आफुलाई समाजमा अब्बल ठान्नेहरुको संख्या बढिरहेको छ ।
विभिन्न विषयगत सहकारीहरु पनि बचत तथा ऋणको कारोबारमा मात्र अल्मलिएर संस्थाको उद्देश्य भुलेर वासलतमा हुने सम्पत्ति र दायित्व हेरेर आत्म सन्तुष्टि प्राप्त गर्ने अवस्थाले सहकारीको गुणस्तर विकास र उद्देश्य प्राप्त गर्न सकिरहेको छैन । यसर्थ, सदस्य शिक्षा कार्यक्रम र साधारणसभाको महत्वलाई बुझेर आम सदस्यहरुमा सहकारी प्रतिको अपनत्व महसुस गर्ने अवस्थाको निर्माण गर्नु पहिलो आवश्यकता हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय