उर्लाबारी । २०७० को दोस्रो संविधानसभा निर्वाचनदेखि लगातार धक्का खाएको सत्तारूढ दल माओवादी केन्द्रले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियान सुरू गरेको छ ।
२०६४ सालमा तत्कालिन मोरङ क्षेत्र नं. ९ (हाल मोरङ क्षेत्र नं. १) मा माओवादीका नगेन्द्रबहादुर धिमाल संविधानसभा सदस्यको रुपमा निर्वाचित हुनुभएको थियो । जनयुद्धपछि पहिलो पटक भएको निर्वाचनमा माओवादीको पक्षमा देशभर माहोल थियो । सोही क्रममा यो क्षेत्रमा पनि माओवादीमय थियो । त्यसको बलमा विजयी हासिल गरेको यस क्षेत्रमा त्यसपछि निरन्तर ओरालो यात्रामा माओवादी रहेको छ । उर्लाबारी निवासी पहिलो संविधासभाका सदस्य धिमाल अहिले पनि माओवादीमै सक्रिय रहेका छन् ।
२०७४ सालमा प्रदेशसभाको निर्वाचनमा माओवादीको तर्फबाट कुलप्रसाद लिम्बूले विजयी हासिल गर्नुभयो । एमालेसहितको वाम गठबन्धनबाट उहाँ निर्वाचित हुनुभएको थियो भने २०७९ मंसिरमा भएको प्रदेशसभाकै निर्वाचनमा लिम्बू पराजित बन्नुभयो । कांग्रेससहितको गठबन्धनबाट लिम्बू उम्मेद्वार बन्नुभएको थियो । उहाँ मिक्लाजुङ निवासी हुनुहुन्छ । माओवादीको केन्द्र सदस्यसमेत रहनुभएका लिम्बू माओवादीका प्रभावशाली नेता मानिनुहुन्छ ।
मोरङ क्षेत्र नं. १ अन्तरगत पर्ने उर्लाबारीमा माओवादी निरन्तर कमजोर बन्दै गइरहेको छ । जनयुद्ध ताका पूर्ण रुपमा सक्रिय रहेका अधिकांश पार्टीमा सक्रिय छैनन् । केही सक्रिय भएपनि राम्रो पकड स्थापित गराउन माओवादी सफल बन्न सकेको छैन । धेरै पूराना कार्यकर्ता निष्कृय रहेपनि पार्टीप्रति माया भने दर्शाउने गरेका छन् । उर्लाबारीमा २०७४ र २०७९ मा भएका दुबै स्थानीय तहको निर्वाचनमा माओवादी शुन्य रहेको छ । वडा सदस्यसमेत यहाँ माओवादीले जितेको छैन । कांग्रेस र एमालेले उर्लाबारी नगरपालिकाको नेतृत्व गर्दै आएका छन् । निरन्तर ओरालो लागेको माओवादीलाई थप बलियो बनाउन अहिले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ कार्यक्रम चलाइरहेको छ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एबं आर्थिक मामिला तथा योजना मन्त्री बाबुराम गौतम उर्लाबारीको कमाण्डमा खटिनुभएको छ । यो अभियानले पूराना कार्यकर्तादेखि नयाँमा माओवादीका बारेमा सकारात्मक प्रभाव बनाउने लक्ष्य राखेको छ । सरसफाई, अन्तरक्रियालगायत कार्यक्रम गर्दै माओवादी नेतृत्व सरकारले गरेका राम्रो कामको प्रचार र सुझाव संकलन गरिरहेको छ । माओवादीप्रति आस्थावान सबै जुर्मराउन र एक ठाउँमा उभिने हो भने उर्लाबारीमा पनि माओवादीको पक्षमा माहोल बन्ने निश्चित छ । उर्लाबारीको नेतृत्वमा कांग्रेस र एमाले रहेपनि माओवादीले बेतिथिका बारेमा खरो रुपमा जनताको पक्षमा काम गर्न नसक्दा पनि दिनप्रतिदिन माओवादी कमजोर बन्दै गएको स्वम् कार्यकर्ताहरु बताउने गर्छन् । यो अभियानसँगै माओवादीले जनताका हरेक पस्थितिमा जोडिएर बेतिथिका बारेमा भण्डाफोर अभियान चलाउने हो भने अर्को निर्वाचनमा माओवादीको पक्षमा माहोल बढ्ने निश्चित छ । यसमा नेतृत्वमा चासो दिनु पर्ने कार्यकर्ताहरुको बुझाई छ ।























