उर्लाबारी । प्रदेश सांसद शोभा चेम्जोङ पालुङवाले गहना प्रदर्शन गरेर तडकभडक गर्नु भन्दा तीजलाई मौलिक पर्वको रुपमा मनाउन सुझाव दिनुभएको छ ।
धनी र गरीब सबै दिदी बहिनी एकै ठाउँमा बसेर तीज मनाउन पाए मौलिक पर्वले विशेष अर्थ र महत्व राख्ने उहाँको भनाई छ । पाथीभरा घरेलु उत्पादन केन्द्रले सोमबार मोरङको उर्लाबारीमा आयोजना गरेको ‘तीज सँगै सीप कार्यक्रम’ लाई सम्बोधन गर्दै साँसद शोभाले कुरुती र कुप्रथा अन्त्यका लागि सबै सचेत रहनुपर्ने धारणा राख्नुभएको छ ।
विगतको जस्तो पानी पनि नखाई व्रत बस्नाले मानव स्वास्थ्यमा प्रतिकुल असर पर्ने औंल्याउँदै उहाँले समयको विकासक्रम अनुसार तीजलाई पृथकरुपले मनाउन सुझाव दिनुभयो । पितृसतात्मक सोच परिवर्तन गरी महिला हिँसा अन्त्य गरेर समतामुलक समाज निर्माण गर्नुपर्नेमा जोड दिँदै साँसद शोभाले हरेक क्षेत्रको नेतृत्व लिन महिला अग्रसर हुनुपर्ने उल्लेख गर्नुभयो ।
आफ्नो हकअधिकार प्रति सचेत नभएसम्म महिला विकासको मुल प्रवाहमा आउन नसक्ने र विकासको मुल प्रवाहमा नआएसम्म दोस्रो दर्जाको नागरिकको रुपमा जीउन वाध्य हुनुपर्ने उहाँको भनाई छ ।
बिभिन्न कुरुती र कुप्रथाका कारण महिला हिँसामा परिरहेको उल्लेख गर्दै कुरुती र कुप्रथा अन्त्य गर्नका लागि रुढीवादी परम्परालाई त्यागेर आधुनिक विज्ञानले गर्ने ब्याख्यालाई अनुशरण गर्न सुझाव उहाँले सुझाब दिनुभयो । विगतमा आफूले थुप्रै सीपमुलक तालिम सञ्चालन गरेको स्मरण गराउँदै उहाँले महिलाको आर्थिक सशक्तिकरणका लागि अनवरतरुपमा संघर्षरत रहेको स्पष्ट पार्नुभयो ।
अर्की प्रदेश साँसद विद्या चाम्लिङले दुःख र मिहनेत गर्न सके कसैले पनि वेरोजगार हुन नपर्ने र गोजीमा पैसा नभई हिँड्न नपर्ने धारणा राख्नुभयो । आफू पहाडको कुनामा जन्मेको व्यक्ति भएको र सीपमुलक कामहरु गर्दैआएको उहाँले सुनाउनुभयो । उर्लाबारी नगरपालिकाकी उपप्रमुख मीना खतिवडा पौडेलले संस्कार र संस्कृति मनाउनेक्रममा विकृती विसंगती भित्रिएको चर्चा गर्दै अबको दिनमा संस्कृतिको जगेर्ना र विकृतिको अन्त्य गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । सोही अवसरमा उद्यमी नरमाया खनाललाई सम्मान गरियो । केन्द्रकी अध्यक्ष भगिमाया भट्टराई कोइराला (निलम)को अध्यक्षतामा भएको सो कार्यक्रममा समाजसेवी रुपा श्रेष्ठलगायतले बोल्नुभएको थियो । कार्यक्रम सञ्चालन धनमाया वनेमले गर्नुभएको थियो ।























