उर्लाबारी । आर्थिक अवस्था कमजोर भएका झापाका यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुलाई खाद्यान्य सहयोग गरिएको छ ।
झापाको दमकमा बुधबार एक कार्यक्रमका बीच लिड नेपाल झापाको समन्वयमा ९० जना यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुलाई खाद्यान्य वितरण गरेको हो । सेभ द चिल्डे«नको सहयोग र निलहिरा समाज काठमाडौंको आयोजनामा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुलाई चामल, आलु, अण्डा, प्याज, नुन, तेललगायत वितरण गरिएको छ । दैनिक जिविकोपार्जनमा सहज होस् भन्ने हेतुले झापामा ९० जना यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुलाई खाद्यान्य सहयोग गरिएको लिड नेपाल झापाकी कार्यक्रम संयोजक नुमा लिम्बू (चञ्चला) ले बताउनुभयो । तेस्रो लिङ्गी र समलिङ्गी समुदायहरुलाई समाजले हेर्ने दृष्टीकोण सकारात्मक बन्न नसक्दा अझै धेरै खुल्न नसकेको उहाँको भनाई छ । आफूहरूको मुख्य लडाइँ पहिचान र समावेशिताको भएको उहाँको भनाई छ । उहाँले महिला, पुरुषसरह तेस्रो लिङ्गी र समलिङ्गीहरुलाई सम्मानजनक व्यवहार हुनुपर्ने भन्दै हरेक क्षेत्रमा आरक्षणको व्यवस्था गर्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले आफूहरूले हरेक क्षेत्रमा अपमान र विभेद झेल्नुपरेको पीडा सुनाउँदै भन्नुभयो, ‘समाजमा अरूले जस्तै सम्मानजनक रूपमा बाँच्न पाउनुपर्नेछ ।’
कार्यक्रमकी प्रमुख अतिथि तथा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायलाई नगरपालिकाको तर्फबाट सहयोग गर्न तयार रहेको बताउनुभयो । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायलाई जुनसुकै समस्या पर्दा पनि आफु र नगरपालिकातर्फबाट सकारात्मक सहयोग गर्ने बचनसमेत उहाँले दिनुभयो । ‘हरेक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार भएकाले यौंनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायकाले पनि आम नागरिकसरह बाँच्नुपर्छ र उनीहरुसरह नै व्यवहार गरिनु पर्छ’, उहाँले भन्नुभयो । यसअघि पनि यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायलाई सहयोग गरिएको कार्यक्रम संयोजक लिम्बूले जानकारी दिनुभयो ।























