दिपेन्द्रबहादुर बराईली
उर्लाबारी । मोरङको उर्लाबारीमा बुधबार कृष्णजन्माअष्ट्मीको अवसरमा रथयात्रा निकालिएको छ ।
रथयात्रा ब्यवस्थापन नगर समितिद्वारा रथयात्रा निकालिएको हो । उर्लाबारी–७ मा रहेको राधाकृष्ण मन्दिरको प्राङ्गणबाट प्रारम्भ भएको उक्त रथ यात्रा आइतबारे, फागुटोल , हाटखोला , उर्लाबारी चौक, बरगाछी हुँदै पुनः मन्दिरमा पुगेर समापन भएको छ । रथ यात्राको दर्शन गर्न सयौं संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
लाखेका आकर्षक नृत्यहरु, विभिन्न भजन कृतन मण्डली, पंचे बाजाका धुनहरुमा मग्न हुँदै, नाच्दै गाउदैँं भक्तजनहरुले आफ्नो सहभागीता जनाएका थिए । रथ यात्रा समुद्घाटनको लागि प्रमुख अतिथिमा उर्लाबारीका मेयर गंगा खरेल र अतिथिको रुपमा विभिन्न राजनैतिक दलका प्रतिनिधिहरुदेखि सामाजिक अभियान्ताहरुको उपस्थिति रहेको थियो ।
शान्ति सुरक्षाका लागि इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरीहरु , ट्राफिक प्रहरी , नगर प्रहरी साथै विभिन्न स्वयंसेवकहरुको सक्रिय भूमिका रहेको थियो ।























