विराटनगर । आफूलाई प्रश्न गरेकै आधारमा धरानका मेयर हर्क साम्पाङले एक जना युवालाई प्रहरी थुनामा पुर्याएका छन ।झण्डै एक दशकसम्म सामाजिक अभियन्ताको रुपमा सक्रिय रहँदा जवाफदेही निकायलाई प्रश्न गरेरै धरानको मेयरसम्म बनेका साम्पाङ आफूलाई प्रश्न गर्नेसँग भने सधैं कठोर रुपमा पेश हुँदै आएका छन्। यसपटक उनको यस्तो शैलीको शिकार बनेका छन्, धरान १५ का अशोक लिम्बू, जो मेयरलाई प्रश्न गरेकै आधारमा शुक्रबार साँझदेखि प्रहरी थुनामा छन्।
मेयर साम्पाङले धरानमा हरेक शुक्रबार लागुऔषधविरुद्ध सचेतना अभियान सञ्चालन गर्दै आएका छन्। यसपटक पनि शुक्रबार अपरान्ह उनी आफ्नो टोलीसहित हातेमाइक बोकेर धरान १५ पुगेका थिए।त्यहाँ पुगेर मेयर हर्कले बोल्दै गर्दा ती युवाले उनलाई प्रश्न गरेका थिए। यो भिडियो पनि सार्वजनिक भइसकेको छ।
‘हर्क दाई’ भन्दै ती युवाले मेयरलाई धरानमा मान्छे डेंगुृले विरामी भएको तर तपाइँ चाहिँ फोटो खिचाउँदै हिँ्ड्ने भन्दै प्रश्न गर्छन्। मेयर साम्पाङ ‘तिमी विरोध गर्न आएको रु’ भन्दै रिसाउँछन्।त्यहीबीचमा उनले नगर प्रहरीलाई उनलाई पक्राउ गर्न निर्देशन दिन्छन्। नगर प्रहरीले समातेर इलाका प्रहरी कार्यालय पुर्याएका ती युवा अहिले पनि प्रहरी थुनामै छन्।
‘कसरी थाहा पाउनु भयो हौ’, धरानका डिएसपी नवराज मल्लले यसबारे बुझ्न खोज्दा भने ‘हामीले पक्राउ गरेको होइन। नगर प्रहरीले ल्याएर जिम्मा लगाएको हो। उहाँ अहिले हामीसँग हुनुहुन्छ।’डिएसपी मल्लले लिम्बूलाई ‘मौखिक उजुरीका आधारमा राखिएको’ बताए। उनीविरुद्ध कुनै उजुरी छ भन्ने प्रश्नमा डिएसपी मल्लको जवाफ थियो ‘मेयर सा ब को मौखिक उजुरी हो।’
प्रहरी युवा संघले धरानमा गर्ने कार्यक्रममा व्यस्त भएको, आज सार्वजनिक बिदा भएको र उसबारे जिल्ला सुरक्षा समितिका पदाधिकारी जानकार रहेको उनको भनाइ छ।
प्रहरीले बिना उजुरी र बिना कुनै कसुर थुनामा राखेका युवालाई मेयर साम्पाङले भने अराजकता फैलाउने’ भनेर लाञ्छित गरेका छन्। सामाजिक सन्जाल फेसबुकमा उनले अराजकता फैलाउनेलाई थुनाएको भनेर लेखेका छन्।
सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले मेयरमाथि अभद्र व्यवहार भएको कुरा आएपछि अनुसन्धानका लागि लिम्बूलाई नियन्त्रणमा लिएको तर शनिबार बिहानै छाडिसकेको बताइन्। अहिले भर्खरै प्रहरीले ती युवा हामीसँगै हुनुहुन्छ भनिरहेको छ नि, कसरी छुटे भन्ने प्रतिप्रश्नमा प्रजिअ पाण्डेले ‘त्यसो भए किटानी जाहेरी परेर अनुसन्धानमा होला ’ भन्ने जवाफ दिइन्। प्रहरीले भने मेयरको मौखिक उजुरीका भरमा थुनामा राखेको बताएको छ।























