उर्लाबारी । अतिथिलाई स्वागत र सम्मान गर्दै माला, खादा, टोपी, ब्याच लगाउने गाउँदेखि सहरसम्मको प्रचलन छँदैछ । विशेषतः प्रमुख अतिथि र कतिपय कार्यक्रममा अतिथिलाई मायाको चिनो वा सौगात दिने क्रम बढ्दो छ ।
प्रमुख अतिथिलाई दिने मायाको चिनो राम्रो दिनु पर्छ भन्ने आम मान्यता र प्रचलन छ । तर, मोरङको पथरीशनिश्चरे नगरपालिका १० जिरिखिम्तीमा रहेको डाँस मोरङ्गी सामुदायिक वन उपभोक्ता समूहको २२ औं बार्षिक साधारणसभामा भने यो पटक मायाको चिनो दिने फरक शैली र प्रयोग भएको छ । कार्यक्रममा आउने अतिथिलाई मायाको चिनो निगुरो र जिब्री साग दिइयो । सामुदायिक वनभित्रकै निगुरो र जिब्री साग अतिथिहरुलाई मायाको चिनो स्वरुप प्रदान गरेको डाँस मोरङ्गी सामुदायिक वनका अध्यक्ष मदन पोख्रेलले बताउनुभयो । प्रमुख अतिथि कांग्रेस नेता तथा मोरङ क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य डा. सुनिल शर्मा, कोशी प्रदेश सभा सदस्य गीता तिम्सिना, अन्य अतिथि, संचारकर्मीलगायतलाई निगुरो र जिब्री साग मायाको चिनो स्वरुप दिइएको थियो । स्थानीय उत्पादनलाई प्रबद्र्धन गर्नका लागि पनि निगुरो र जिब्री साग मायाको चिनो प्रदान गरिएको अध्यक्ष पोख्रेलको भनाई छ ।























