संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका उपाध्यक्ष समेत रहेका उहाँको मंगलबार राति १ बजे हृदयघातबाट निधन भएको हो । काठमाडौंको बालुवाटर बस्ने उहाँलाई हृदयघात भएपछि महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको थियो ।
अस्पतालमा पुर्याउँदा उहाँको निधन भइसकेको अस्पताल स्रोतले जानकारी दियो । इलाम क्षेत्र नं २ बाट निर्वाचित नेम्वाङ २००९ फागुन २८ गते इलाममा जन्मिनुभएको थियो । उहाँ इलाम २ बाट २०५६ सालदेखि संसदीय चुनावमा निरन्तर विजयी हुँदै आउनुभएको छ ।
२०४८ सालदेखि २०५२ सालसम्म उहाँ राष्ट्रिय सभाका सांसद बन्नुभएको थियो । २०६३ सालमा पहिलोपटक सभामुख बन्नुभएका नेम्वाङ अन्तरिम संसदमा समेत सभामुख बन्नुभयो । पहिलो र दोस्रो संविधान सभाका अध्यक्ष र सभामुख बन्नुभएका नेम्वाङकै कार्यकालमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो ।
२०५१ सालमा न्याय, कानुन तथा संसदीय मन्त्री बनेका नेम्वाङ २०५६ सालमा लेखाुभएको थियो । उहाँकै कार्यकालबाट संसदीय समितिमा पत्रकारलाई प्रवेश दिन सुरू भएको हो । स्नातक अध्ययनका क्रममा २०२८ । २०२९ सालमा अनेरास्ववियुबाट इलाम बहुमुखी क्याम्पसको स्ववियु सभापति बनेका नेम्वाङ २०२८ सालदेखि राजनीतिमा निरन्तर सक्रिय रहनुभएको थियो । २०३३ सालमा राजकाज मुद्दामा केन्द्रीय कारागारमा थुनामा रहँदा कम्युनिष्ट पार्टी कोओर्डिनेशन केन्द्र मालेमा संगठित भएका नेम्वाङ एमालेको केन्द्रीय न्यायिक समिति सदस्य हुँदै २०७८ मा एमालेको उपाध्यक्ष बन्नुभएको थियो ।























