दिपेन्द्रबहादुर विश्वकर्मा
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिमा कक्षा १२ को ग्रेडवृद्धि आवेदन फारम शुल्कमा निजी संस्थागत सामुदायिक बिद्यालयहरुले मनोमानी तरिकाले विद्यार्थीहरुसँग शुल्क उठाइएको पाइएको छ ।
हाल उर्लाबारीमा कक्षा १२ सम्म पढाई हुने बिद्यालयहरुमा सामुदायिक ७ वटा र नीतितर्फ ८ वटा गरी जम्मा बिद्यालय संख्या १५ रहेका छन् । दुबै तर्फका गरी २०८० मा कक्षा १२ को परिक्षामा सहभागी कुल विद्यार्थीहरु १४३७ रहेको छ । जसमा छात्रा ७५४ र छात्र ६८३ छन् । ग्रेड वृद्धिका लागी सहभागी हुने विद्यार्थी संख्या भने निकै ठुलै मात्रामा रहेको छ ।

राष्ट्रिय परिक्षा बोर्ड अन्तर्गत २०८० सालको कक्षा १२ को बार्षिक परिक्षामा नियमित विद्यार्थीको रुपमा सहभागी भएर सैद्धान्तिक तर्फ अन्य बिषयमा डि वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी दुई बिषयमा नट ग्रेड प्राप्त गर्ने वा सैद्धान्तिक तर्फ अन्य बिषयमा डि वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढीमा दुई बिषयमा (अनुपस्थित) भएका परिक्षार्थीहरुलाई दुई बिषयमा ग्रेड वृद्धि (पुरक) परिक्षामा सम्मीलित हुन पाउने गरि सूचना सार्वजनिक भएको थियो । जसमा भदौ २२ गतेसम्म आवेदन भर्नेलाई प्रति विद्यार्थी ६ सयको दरले र उक्त समय अवधीमा आवेदन भर्न छुटेकाहरुको लागि भदौ २९ गते भित्र निलम्बन शुल्कसहित प्रती विद्यार्थी १ हजार २ सय शुल्क तोकिएको छ । तर, उर्लाबारीमा रहेका बिद्यालयहरुले प्रती विद्यार्थी १ हजार २२ गतेसम्मका लाई र २२ देखि यताकालाई २ हजारसम्म शुल्क उठाइएको पाइएको छ ।
ग्रेड वृद्धि परिक्षामा सहभागी हुन आवेदन फारम भर्न आउने एक विद्यार्थीका अनुसार बिद्यालयलाई किन बढी रकम उठाएको भनेर प्रश्न गर्दा कर्मचारी आवतजावतका लागि यातायात खर्च देखि खाजा खर्चसम्मको बहानामा कुरालाई टार्ने गरेका छन् । सोही विद्यार्थीको गुनासोलाई आधार बनाएर सोधपुछ गर्दा सबै बिद्यालयहरुले सल्लाह गरेरै एउटै जवाफ दिएको जसरी अधिकांश बिद्यालयहरुको बहाना र तर्क उस्तै पाइएको श्रोतले जनाएको छ । उर्लाबारी–३ मा रहेको दुर्गा माबिले राष्ट्रिय परिक्षा बोर्डले तोके बमोजिमको शुल्क नै लिएको छ ।
आज भोलि सामुदायिक बिद्यालय भनेको त निम्न बर्गीयहरुको लागि मात्र हो भन्ने नै भैसकेको अवस्था छ । प्राय जसोतसो अधिकांश अविभावकले भए नभए नि छोराछोरीलाई राम्रो शिक्षा दिनका निम्ति नीजि बिद्यालय नै पढाउने गर्छन् । तर, आज शिक्षालाई कमाउ धन्दा बनाउने केही ब्यक्तिहरुको कारणले गर्दा समाजमा यस्ता सामान्य देखिने बेतिथीहरु मौलाउँदै गएको पाइन्छ ।
उक्त बिषयमा उर्लाबारी नगरपालिका शिक्षा तथा खेलकुद शाखाका अधिकृत अशोक घिमिरेले यस्तो गतिविधि गलत भएको बिद्यालयहरुले कर्मचारीलाई खाजा यातायात खर्च आफैंले ब्यवस्था गरी बोर्डले तोके अनुसारको रकम उठाउनु पर्ने जानकारी दिनु भएको छ । घिमिरेले यस बिषयमा शिक्षा समितिसँग चाडैं छलफल गरी यसलाई रोक्नका लागि ठोस निर्णय लिने बताउनु भयो ।
प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौलाले यस्ता गलत कार्यलाई तुरुन्त रोक्नका लागि प्रत्येक बिद्यालयका सम्बन्धित पक्षहरुलाई निर्देशन दिने जानकारी दिँदै आगामी बर्षहरुमा विद्यार्थीहरु , अविभावकहरुलाई दुख दिने , असर पुग्ने कुनै पनि कार्य जोकोहीले गरे पनि कार्वाहीको प्रक्रियामा ल्याउने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय