उर्लाबारी । मोरङको पथरीशनिश्चरे नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शशी राईले नगरपालिकाको गाडी दुरुपयोग गर्ने गरेको पाईएको छ ।
करिव एक महिना पथरीशनिश्चरे नरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यभार सम्हाल्न आउनुभएका अधिकृत राईले नगरपालिकाकोे को १ झ ५१४ नम्वरको गाडीको दुरुपयोग गर्ने गरेको पाईएको हो । अधिकृत राईले नगरपालिकाले दिएको गाडीको प्रयोग गरी कार्यालय समय भन्दा बाहिर प्रत्येक दिन बिहानको समयमा व्याटमिन्टन खेल्न पालिकादेखि ५ किलोमिटर टाढा रहेको छिमेकी पालिका उर्लाबारी पुग्ने गरेको पाईएको छ ।
नगरपालिका स्रोतका अनुसार अधिकृत राईले कार्यालयमा हाजिर भएको दोस्रो हप्ता देखि नै कार्यालयको गाडी जथाभाबी प्रयोग गर्दै आउनुभएको छ । कार्यालयको गाडी दुरुपयोग भएको विषयमा हामीले अधिकृत राईलाई सम्पर्क गर्दा राईले भन्नुभयो–‘पहिला पहिलाका अधिकृतहरुले नगरपालिकाको गाडी लिएर विराटनगर बास बस्न जाने र भोलिपल्ट कार्यालय आउने गरेका थिए मैले त्यसो गरिन्, उहाँहरुले गरेको देख्नु भएन मैले मात्र गरेको देख्नु भयो ।’ यता नगरपालिकाका मेयर मोहनप्रसाद तुम्बाफोले अधिकृतले प्रयोग गर्ने गाडी जनताको सेवामा जुनसकै बेला प्रयोग गर्न पाउने भएतापनि निजी प्रयोगका लागि उपयोग गर्न नपाउने बताउँदै गाडी प्रयोगका बारेमा अधिकृतसँग सोधपुछ गरिने बताउनुभयो ।























