उर्लाबारी । तीज भन्ने वित्तिकै हिन्दु महिलाहरुले मनाउने पर्वमा रुपमा लिने गरिएको छ । तीज पर्वमा माइत गएर, आमा दिदीबहिनी भेटघाट गरी मनाउने गरिन्छ । तर, तेस्रोलिङ्गी महिलाले भने आफन्तभन्दा पनि आफ्ना साथीभाइसँग मनाउने गर्छन् तीज । आफन्तको व्यवहारका कारण उनीहरु साथीभाइबीच भेटघाट गरी तीज मनाउने गरेका हुन् ।
लिड नेपाल झापाको आयोजनामा दमकमा समानता समावेशीसहित यौनिक तथा लैगिङ्ग अल्पसंख्यक समूदायले तीज कार्यक्रम मनाएका छन् । यौनिक तथा लैगिङ्ग अल्पसंख्यक समूदायका ब्यक्तिहरुको उल्लेखिय सहभागितामा भएको उक्त कार्यक्रममा नाचगानसहित नृत्य र म्यूजिकल चियर प्रतियोगिता गरिएको थियो । तीजका विभिन्न गीतमा उनीहरुले नाचेका थिए । यौनिक तथा लैगिङ्ग अल्पसंख्यक समूदायका ब्यक्तिहरु भेला पारेर बर्षेनी तीज कार्यक्रम गर्दै आएको कार्यक्रम संयोजक नुमा लिम्बू (चञ्चला) ले बताउनुभयो ।
तेस्रोलिङ्गी महिलाले तीज पर्व र अन्य पर्व पनि साथीभाइसँग मिलेर मनाउछन् । सहरी क्षेत्रमा एकाध स्वीकार गरिएको भए पनि धेरैको परिवारले स्वीकार गर्न नसकेको नै गुनासो छ । अधिकांश ग्रामीण भेग र परिवारमा यो समस्या छ । ‘म पनि आमाकै कोखबाट जन्मिएको हो, हामी छुट्टै ग्रहबाट आएको होइन, आकाश या धर्तीबाट आएको पनि होइन’, तीज पर्वका अवसरमा चञ्चलाले परिवार, समाज र राष्ट्रसँग आग्रह गर्दै भन्नुभयो, ‘हाम्रो भविष्य अनिश्चत छ, आफ्नो सन्तान जस्तै हो भनेर सबैले माया र सहयोग गर्न अनुरोध गर्छु ।’
तेस्रो लिङ्गी प्रनिशा मगरलाई तीज पर्व आफ्नो समुदायको अधिकारका लागि पनि लड्ने दिनजस्तो लाग्छ । ‘हरेक वर्ष तीज मनाउँछु, वर्ष दिनमा आउने पर्व परिवारसँग मनाउन पाइँदैन’, उहाँले परिवारको याद धेरै आउने गरेको सुनाउँदै भन्नुभयो,‘घरपरिवारको तिर्सना मेटाउन साथी मिलेर मनाउछौँ, समाजले यो समुदायलाई सांस्कृतिरुपमै वञ्चित गरेको छ, यो भन्दा दुःख लाग्छ ।’
लिड नेपालले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकारका लागि काम गर्दै आएको छ । नेपालमा सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिमा पनि विशेष गरी तेस्रोलिङ्गी वर्गको हकअधिकारका लागि काम गर्न स्थापना गरिएको हो । यसले विविध लैङ्गिक र यौनिकताका व्यक्तिको निम्ति मैत्रीपूर्ण यौन स्वास्थ्यसम्बन्धी शिक्षा दिने, सरकारसँग वकालत गर्ने, युवाको कलात्मक अभिव्यक्तिलाई प्रोत्साहित गर्ने र हिंसाको अभिलेख राख्ने उद्देश्य रोखेको छ ।
आफूले भोग्नुपरेका समस्यालाई चिर्दै अधिकार प्राप्तिको अभियानसँगै जोडेर मनाउने गरेको लिड नेपालका अध्यक्ष सुशिल नेपालको भनाइ छ । ‘तीजपर्व सशक्तीकरण र नारी आवाजलाई बुलन्द गरी मनाउने पर्व हो’ उहाँले भन्नुभयो, ‘हाम्रो समुदायको अधिकार प्राप्तिका लागि खबरदारी अभियानका रुपमा हामीले मनाउने गरेका छौँ ।’
दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले यौनिक तथा लैगिङ्ग अल्पसंख्यक समूदायहरुलाई पनि अन्य सरह माया र सद्भाव गर्नु पर्ने बताउनुभयो । कसैलाई होच्याउने र जिस्काउने कार्य गर्न नहुने उहाँको तर्क छ । आफ्नो पहिचान खुलेर स्वतन्त्र तरिकाले बाँच्न पाउने अधिकार सबैमा रहेको बताउँदै यौनिक तथा लैगिङ्ग अल्पसंख्यक समूदायको हकहितमा निरन्तर साथ र सहयोग गर्ने उहाँले प्रतिबद्धता जाहेर गर्नुभयो ।























