उर्लाबारी । मोरङको उर्लाबारी–६ स्थित उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको २१ औँ साधारण सभा सम्पन्न भएको छ ।
शनिबार उर्लाबारी स्थित सगरमाथा साकोसको सभाहलमा भएको साधारणसभामा उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल प्रमुख अतिथि रहनुभएको थियो । साधारणसभामा संस्थाका सचिव मेघराज श्रीपालीले सचिवको प्रतिवेदन र नीति तथा कार्यक्रम, कोषाध्यक्ष तेजकुमारी खतिवडाले आर्थिक प्रतिवेदन, लेखा समितीका संयोजक ढकबहादुर थापाले लेखा समितिको प्रतिवेदन र कार्यालय प्रमुख राजु बुढाथोकीले प्राविधिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । आर्थिक वर्ष २०७९ । ०८० मा ५ करोड ७५ लाख ८१ हजार १ सय २५ रुपैयाँ आम्दानी गरेको उक्त खानेपानीको शुद्ध बचत १ करोड ८४ लाख १३ हजार ७ सय ८० रुपैयाँ रहेको प्रतिवेदनमा प्रस्तुत गरिएको छ ।
यस्तै उक्त अवसरमा कुशल व्यवस्थापकको भुमिका निभाउँदै आएका कार्यालय प्रमुख राजु बुढाथोकी, उत्कृष्ट कार्यक्षमताका आधारमा पम्प अपरेटर दिलबहादुर मगर र खानेपानीको बारेमा जनचतेतनामूलक जानकारी गराउने अलकापूरी नेपाल साप्ताहिकका सम्पादक दुर्गाप्रसाद खतिवडालाई पुरस्कृत गरिएको थियो । उहाँहरुलाई नगद र सम्मान पत्रले पुरस्कृत गरिएको थियो ।
जम्मा ३ सय ५ जना सभासदहरु रहेको उक्त खानेपानीमा सभासदहरुको प्रतिनिधित्व गर्दै वडा नम्बर ७ का कुमार तामाङले गुनासोसहितको आफ्ना धारणा राख्नुभएको छ । उहाँले खानेपानीले कमाएको करोडौँ मुनाफा उपभोक्तालाई वितरण गरिनुपर्ने, सार्वजनिक ठाउँमा खानेपानी निःशुल्क जडान नगरिएको, विपन्नहरुलाई निःशुल्क धारा जडान नगरिएकोलगायतका गुनासा राख्नुभयो । कार्यक्रममा प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेलले आफ्नो मन्तव्य राख्ने क्रममा खानेपानीसँगै सरसफाई समेत आवश्यक रहेको बताउदै उहाँले उर्लाबारीका ३ सय ८० विपन्न वर्गको परिवारमा निःशुल्क धारा जडान गरिने बताउनुभयो । कार्यक्रममा वडा नम्बर ९ का वडाध्यक्ष नरवहादुर मोक्तान, राप्रपा उर्लाबारी नगर अध्यक्ष निरुपा निरौलालगायतले बोल्नुभएको थियो । संस्थाका अध्यक्ष चिन्तामणी पौड्यालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य कार्यसमिति सदस्य रामकुमार राईले राख्नुभएको थियो । कूल ७ हजार २ सय ८४ वटा धारा जडान संख्या रहेको उक्त खानेपानी संस्थाको २१ औँ साधारण सभा कार्यक्रमको स१चालन संस्थाका सचिव मेघराज श्रीपालीले गर्नुभएको थियो ।























