उर्लाबारी । उर्लाबारी नगरपालिकाको वडा नं. २ र ३ जोड्ने ५.५ किलोमिटर कृष्णचौक–सुनझोडा अत्याधुनिक फोर लेन कालोपत्रे सडकको आइबार दोस्रो पटक शिलान्यास गरिएको छ ।
विश्व बंैकको ३६ करोड १२ लाख ४३ हजार ६ सय १६ रुपैयाँ अनुदान सहयोगमा कृष्णचौक–सुनझोडा सडक कालोपत्रेको शिलान्यास भएको हो । उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेलले उर्लाबारी–३ को गोलचौकमा शिलान्यास गर्नुभएको छ । सो सडक निर्माणका लागि २०७९ फागुन २१ गते ठेक्का सम्भौता भएको थियो । यो सडक २०८२ साल असार मसान्तभित्र निर्माण सम्पन्न हुने सम्झौता रहेको छ । शिलान्यास गरिएको सडक निर्माणका लागि वर्क सेडुल सुधार र संसोधन गरेर काम सुरु हुने जनाइएको छ ।
उर्लाबारी–२ को फोर लेनको मुख्य ठेक्का सिपेल इन्फ्रा क्रेच कालोनी सनाथ नगर हैदराबादले पेटी ठेक्का तुम्रुक कन्ट्रक्सनलाई दिएको थियो । गत असार २५ गते तुम्रुक कन्ट्रक्सनले शिलान्यास गर्ने कार्यक्रम राखेको थियो । तर, उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेलले प्रक्रिया पूरा नभएको भन्दै रोक्ने प्रयास गरेपनि स्थानीयबासीले शिलान्यास गरेका थिए । कृष्ण चौकमा स्थानीयले शिलान्यास गरेपनि काम भने अघि बढेको थिएन । सोही विषयमा उर्लाबारी नगरपालिकाका नगरप्रमुख खरेल र तत्कालिन प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारीबीच विवाद उत्पन्न भएको थियो । सोही कारण प्रमुख प्रशासकीय अधिकृत अधिकारीले उर्लाबारी छोडेका थिए । मुख्य ठेक्का पाएको कम्पनीले पेटी ठेकेदारको रुपमा हेटौडाका निर्मल उप्रेतीलाई दिएको थियो । तर, पटक पटक ताकेदा गर्दा पनि उप्रेतीले काम नगरेपछि सो ठेक्का सम्झौता खारेज गर्दै मुख्य ठेकेदार पक्षले उर्लाबारीको तुम्रुक कन्ट्रक्सनलाई पेटी ठेक्काको जिम्मेवारी दिइएको थियो ।

दोस्रो पटक शिलान्यास गर्दै नगरप्रमुख खरेलले कसैले ब्यक्तिगत स्वार्थका लागि शिलान्यास गराएको घुमाउरो पाराले बोलेपनि कसले गरेको भन्ने बारेमा केही खुलाउनुभएन । नगरप्रमुख खरेलले गुणस्तरिय कार्यसँगै समयमै निर्माण पुरा गर्न ठेकदार कम्पनीलाई निर्देशन दिनुभयो । प्रमुख खरेलले समयमै सडक निर्माण सम्पन्न गर्नमा स्थानीयबासीको खबरदारी पनि आवश्यक रहेको बताउँदै सबैको सहमतिमा विवाद नगरी समयमै सम्पन्न गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभएको छ । उपप्रमुख विनादेवी खतिवडा पौडेलले सडक निर्माणपछि यस क्षेत्रको विकासमा टेवा पुग्ने बताउँदै सबै एकजुट भएमा मात्र समयमै निर्माण सम्पन्न हुन सक्ने बताउनुभयो । कृष्णचौक–सुनझोडा सडक निर्माणका लागि शिलान्यास भएकोमा उर्लाबारी वडा नं. २ का वडाध्यक्ष राजन कँडेलले खुशी प्रकट गर्नुभयो । सडक निर्माणले उक्त वडा नं.२ र ३ का स्थानीय लाभान्वित हुने वडा नं. ३ का वडाध्यक्ष भीष्मराज बुढाथोकीले बताउनुभयो ।
कार्यक्रममा पेटी ठेकेदार कम्पनी उर्लाबारी –३ स्थित तुम्रुक कन्ट्रक्सनका संचालक अर्जुन तुम्रुकले ठेक्का अवधिभन्दा ६ महिना अघि निर्माण पुरा गर्ने प्रतिवद्धता जनाउँदै सो कार्यको लागि स्थानीयको सहयोग आवश्यक पर्ने बताउनुभयो । शिलान्यास कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन निरौला, जसपाका नगर अध्यक्ष मात्रिका धिमाल, स्थानिय योगेन्द्र डाँगीलगायतले बोल्नुभएको थियो । कार्यक्रम सञ्चालन नगरप्रमुख खरेलका स्वकीय सचिब हरि खतिवडाले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय