उर्लाबारी । नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिवेशन शुक्रबार विराटनगरमा सुरु हुँदैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने तय भएको अधिवेशनबाट नेताहरुले सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिरहेका छन् । तर, सर्वसम्मत हुने सम्भावना कम रहेको छ ।
अध्यक्षमा मोरङ क्षेत्र नं. १ का पूर्व सांसद घनश्याम खतिवडाको सशक्त उम्मे्वारी रहेको छ । खतिवडा र विनोद ढकालबीच प्रतिस्पर्धाको सम्भावना बलियो बनेको हो । अग्नि खरेल, भानुभक्त ढकाल, गुरु बराललगायत खतिवडाको पक्षमा छन् भने पूर्वमुख्यमन्त्री भीम आचार्यलगायत ढकालको पक्षमा खुलेका छन् । खतिवडा पक्षमा लागेका नेताहरुले खतिवडालाई पार्टी अध्यक्ष ओलीको साथ रहने दाबी गरिरहेका छन् । ओलीसँग ढकालको सम्बन्ध बिग्रिएका कारण खतिवडाले समर्थन पाउने उनीहरुको तर्क छ ।
प्रदेश अधिवेशनका लागि ९९७ जनाप्रतिनिधि छनोट भएर आइसकेका छन् । थप ५० जना मनोनयन गर्न बाँकी छ । पालिका र जनसंगठनबाट छनोट भएर आएकाहरुको स्पष्ट लाइन नखुलेपनि दुवै पक्षको आधा–आधा उपस्थिति भएको स्रोतको दाबी छ ।























