
उर्लाबारी । नेपाली कांग्रेस कोशी प्रदेशका सह–महामन्त्री खड्ग फागोले राजनीति पद, पावर, प्रतिष्ठा र पैसाका लागि नभई सेवाका लागि हुनु पर्ने बताउनुभयो ।
शनिबार नेपाली कांग्रेस उर्लाबारी वडा नं. ४ ले क्रियाशिल सदस्य भेला तथा प्रशंसा पत्र वितरणमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । राजनीति मान, सम्मानका लागि नभई कामका लागि भएको बताउँदै उहाँले भन्नुभयो, ‘राजनीति कमाइ खाने भाँडो होइन ।’ राजनीति सेवाभावले गर्नु पर्नेमा उहाँले जोड दिनुभयो । पालो गरेर होइन भिजन भएको व्यक्ति नेतृत्वमा आउनु पर्नेमा उहाँले जोड दिनुभयो । उहाँले खड्ग फागोको कुनै गुट नभएको दाबी गर्नुभयो । उहाँले थप्दै भन्नुभयो –‘राम्रो हुनुपर्छ, राम्रोलाई अघि बढाएर नेतृत्व दिनुपर्छ भन्दा गुट ठानिन्छ भने सरोकार छैन ।’
उर्लाबारी वडा नं. ४ का सभापति प्रेम याख्याको सभापतित्वमा भएको उक्त कार्यक्रम वडा सचिब भीम घिमिरेले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा नगरसभापति सुरेन्द्र लिम्बू, उर्लाबारी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष कल्याणकुमार राईलगायतले बोल्नुभएको थियो । सो अवसरमा पार्टीमा निरन्तर खट्ने कार्यसमिति र क्षेत्रीय प्रतिनिधि गरी ८ जनालाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।