उर्लाबारी । उर्लाबारी नगरपालिकाले अव्यवस्थित रुपमा जथाभावी राखिएका केबुल तथा इन्टरनेटका तारहरु हटाउन थालेको छ ।
तारलाई व्यवस्थापन गर्न पटक पटक सूचना जारी गर्दापनि अटेर गरेपछि सोमबार देखि तारहरु काट्न थालेको उर्लाबारीवडा नं. ५ का वडाध्यक्ष रविन लामाले बताउनुभयो । अव्यवस्थित तारको गुजुल्टोका कारण शहर कुरूप बनेको तथा आगलागीको जोखिम समेत रहेकाले तारको व्यवस्थापन थालेको उहाँको भनाई छ । आगलागी लगायत विद्युतीय दुर्घटना कम गरी भरपर्दो विद्युत सेवा उपलब्ध गराउन र शहरी सुन्दरता समेत कायम राख्न दूरसञ्चार, केबल टीभी र इन्टरनेट सेवा प्रदायकहरूलाई तारको व्यवस्थापन गर्न नगरपालिकाले सुचना जारी गरेको थियो । नगरपालिकाले तार काट्ने अभियान थालेपछि आइजोन इन्टरनेटलगायत अबरुद्ध भएको छ । आइजोन इन्टरनेट प्रा.लि. का सञ्चालक नविन श्रेष्ठले तार ब्यवस्थापनको क्रममा रहेको बेला एक्कासी तार काटिएको कारण इन्टरनेट अबरुद्ध भएको बताउनुभयो ।























