मोरङ । नेकपा एमालेको मंगलबार सम्पन्न प्रदेश अधिवेशनबाट अध्यक्षमा पराजित विनोद ढकालले निर्वाचनका क्रममा पार्टी स्थायी कमिटी सदस्य र पोलिटब्यूरो सदस्यहरुले नै खुलेआम गुटबन्दी गरेको आरोप लगाउनुभएको छ ।
विराटनगरस्थित एमालेको पार्टी कार्यालयमा बिहीबार पत्रकार सम्मेलन गरी ढकालले नेतृत्व तहबाटै घेराबन्दी गर्दै प्रदेशको सत्तासमेत प्रयोग गरेर आफूलाई हराइएको दाबी गर्नुभएको हो । आफ्नो पक्षमा लाग्ने कार्यकर्ताहरुलाई नेतृत्व तहबाट डर, त्रास र धाकधम्की दिएकोसमेत ढकालको दावी छ । ‘पार्टीको मूल सिद्धान्त र पार्टी विधानको भावनाविपरीत केन्द्रीय नेताहरूले अमूक उम्मेदवारको पक्षमा लागेर कार्यकर्तालाई डर, त्रासमा पारेर भोट माग्ने र अर्को उम्मेदवारलाई तिरस्कार गरेको व्यवहार खुलमखुला देखियो,’ उहाँले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘पार्टी स्थायी कमिटी सदस्य र पोलिटब्यूरो सदस्यहरुले नै खुलेआम रुपमा अमुक उम्मेदवारको पक्षमा भोट माग्ने र अर्को उम्मेदवारलाई घेराबन्दी गर्ने काममा नियोजित रुपमा लागेका मात्र होइन, त्यो कर्ममा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम जोडेर प्रचारवाजी गर्न समेत भ्याउनुभयो ।’
ढकालले नेताहरुको तहबाट भएको त्यस्तो व्यवहारले पार्टी अध्यक्ष ओलीलाई विवादमा पार्ने काम भएको पनि दावी गर्नुभयो । ‘उहाँहरुको त्यस्तो व्यवहारबाट पार्टी अध्यक्ष जस्तो संस्थालाई विवादमा पार्ने काम भएको छ भने पार्टीभित्रको प्रतिस्पधर्नलाई अस्वस्थ र दवावमूलक बनाएको छ । के हामीले चाहेको यस्तै नियन्त्रित लोकतन्त्र हो ? के पार्टी अध्यक्षको नजरमा कोही कार्यकर्ता नजिक र कोही टाढाको हुनसक्छ ?,’ उहाँले प्रश्न गर्नुभएको छ ।
केन्द्रीय सदस्य, पोलिटब्यूरो सदस्य तथा स्थायी समिति सदस्यहरुलाई प्रदेश अध्यक्षको लागि भोट माग्ने अधिकार नै नभएको ढकालले बताउनुभयो । पार्टी अध्यक्षको नाम लिएर पक्ष वा विपक्षमा लाग्नु विधानविपरीतको अनैतिक काम भएको उहाँको भनाइ छ । आफूलाई चुनाव हराउनकै लागि प्रदेश सरकारमा मन्त्री तथा राज्यमन्त्री नियुक्तिदेखि अनेक हथकण्डा भएको उहाँले आरोप लगाउनुभयो । एमाले कोशीको अधिवेशनमा घनश्याम खतिवडासँग ८२ मतअन्तरले पराजित भएका ढकालले पार्टीको स्थायी समिति सदस्यहरु हिक्मतकुमार कार्की, शेरधन राई, भानुभक्त ढकाल, राजेन्द्र गौतमसहित विरुद्ध आक्रोश व्यक्त गर्नुभयो । उहाँहरुले अधिवेशनमा खतिवडालाई समर्थन गरेका थिए ।
यद्यपी चुनावी परिणामलाई सहर्ष स्वीकार गर्ने बताउँदै ढकालले नवनिर्वाचित नेतृत्वलाई सहयोग रहने विश्वास पनि दिलाउनुभयो । अधिवेशनमा नेतृत्वको घेराबन्दी र त्रासलाई चिर्दै निर्वाचनको बेला आफूलाई सहयोग गर्ने कार्यकर्तालाई विभेदमा पारिए चुप नलाग्ने चेतावनीसमेत उहाँले दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय