झापा । झापाको दमकस्थित पूर्वसन्देश दैनिकमा प्रकाशित समाचारको विषयलाई लिएर पत्रिकाका सम्पादक र संवाददातालाई धम्की दिनेलाई कार्वाही गर्न माग गरिएको छ ।
फाल्गुनन्द सहकारी संस्थाको समाचारको विषयलाई लिएर संस्थाका अध्यक्ष संकल्प लिङ्देनले नेपाल पत्रकार महासंघ झापाका सदस्य तथा पूर्वसन्देश दैनिकका प्रधानसम्पादक गञ्जबहादुर दाहाल र सम्वाददाता तथा महासंघ मोरङ शाखाका सदस्य घनश्याम भण्डारीलाई पटक–पटक जे पनि गरिदिने धम्की दिएका हुन् ।
असोज १३ गते पूर्वसन्देश दैनिकमा पत्रकार भण्डारीले लेखेको बचतकर्ताको रकम गायब शीर्षकको समाचारलाई लिएर लिङ्देनले पत्रकारद्वयलाई धम्की दिएका थिए । प्रधानसम्पादक दाहाललाई सहकारीको दमकस्थित कार्यालयमा बोलाएर करिब २० मिनेट बन्धक बनाई मानसिक तनाब र धम्की दिएका लिङ्देनले फोन र म्यासेजमार्फत पनि दाहाल तथा भण्डारीलाई बारम्बार धम्की दिएको पाइएको छ । पत्रकार घनश्याम भण्डारीले समाचारको विषयलाई लिएर फसाउने र अपहरण गर्नेसम्मको धम्की दिएको बताउनुभयो । उहाँले सुरक्षाको चिन्ता भएको भन्दै प्रशासन समक्ष जानकारी गराउनुभएको छ ।
यसैबीच पत्रकारलाई दिइएको धम्की र बन्धक बनाइएको विषयमा नेपाल पत्रकार महासंघ कोशी प्रदेश, नेपाल पत्रकार महासंघ झापा, नेपाल पत्रकार महासंघ मोरङ, सञ्चार क्लब नेपाल, दमक पत्रकार मञ्च, प्रेस चौतारी कोशी, प्रेस चौतारी झापा, किराँत राई पत्रकार संघ मोरङलगायतका पत्रकारजन्य संघसंस्थाले छुट्टाछट्टै विज्ञप्ति निकाल्दै घटनाको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । नेपाल पत्रकार महासंघ कोशी प्रदेशले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘समाचारमा चित्त नबुझेमा कानूनी रूपमा अघि बढ्ने बाटो हुँदाहुँदै पत्रकारमाथि धम्की र मानसिक यातना दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी आपराधिक कार्य हो । महासंघ यस्तो हर्कतको निन्दा र भत्सना गर्दछ । समाचारको विषयलाई लिएर फसाउने र अपहरण गर्नेसम्मको धम्की दिएको घटनाले पत्रकार दाहाल र भण्डारीको सुरक्षामा पनि चुनौति देखिएको छ ।’
महासंघले पटक–पटक पत्रकारलाई धम्की र मानसिक तनाब दिएका लिङ्देनलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउन माग गर्दै पत्रकारद्वयको सुरक्षामा ध्यान दिन सरकार तथा स्थानीय प्रशासनलाई ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय