उर्लाबारी । कोशी प्रदेशसभा सदस्य एबं नेपाली कांग्रेसकी नेतृ शोभा चेम्जोङ पालुङ्वाले कोशी प्रदेशमा सरकार गठनका लागि अन्तिम अवसरमा सबै दल मिलेर जानुको विकल्प नरहेको बताउनुभएको छ ।
उर्लाबारी–७ मा सोमबार नेपाली कांग्रेस मोरङका सभापति, मोरङ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य, युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू र कोशी प्रदेश सांसद शोभा चेम्जोङ पालुङ्वाको निजी सचिवालय उद्घाटन कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । कोशी प्रदेशको राजनीतिक स्थायीत्वको लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको औलाउँदै जनताको भावना पनि मध्यावधिमा जानु हुँदैन भन्ने रहेकाले सबै मिलेर अघि बढ्नु पर्ने उहाँले धारणा राख्नुभयो । उहाँले राजनीतिक अस्थिरता नै कोशीको विकासमा वाधक भएको उल्लेख गर्नुभयो । ‘हाम्रो क्षेत्र र प्रदेशको विकास जुन रफ्तारमा गइराख्नुपर्ने हो, त्यो रफ्तारमा जान सकेको छैन’, उहाँले भन्नुभयो ‘यी सबै राजनीतिक अस्थिरताले गर्दाखेरी हो ।’























