उर्लाबारी । पार्टीको निर्णय र निर्देशनविपरित नेकपा एमालेसँग मिलेर कोशी प्रदेशको मुख्यमन्त्री दावी गरेका काँग्रेस सांसद केदार कार्कीसहित समर्थन गरेका सांसदलाई काँग्रेसले कार्वाही गर्ने भएको छ ।
नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णयविपरित कार्कीले काँग्रेसका ८ सांसदसहित एमालेको समर्थनमा मुख्यमन्त्रीको दावी पेश गर्नुभएको थियो । संविधानको धारा १६८ को उपधारा ५ अनुसार सांसदलाई पार्टीको ह्वीप नलाग्ने भन्दै कार्कीले आफू मुख्यमन्त्री भएपनि काँग्रेसले कार्वाही गर्न नसक्ने जिकिर गर्नुभएको छ । तर, काँग्रेस कोशी प्रदेश समितिका सभापतिसमेत रहेका संसदीय दलका नेता उद्धब थापाले पार्टी नीति विपरित उभिनेलाई कार्वाही हुने बताउनुभएको छ । थापाले पार्टीको नीति विपरित उभिएका सांसदबारे निर्णय लिन शुक्रबार प्रदेश कार्यसम्पादन समितिको बैठक बोलाउनुभएको छ । ‘प्रदेश कार्यसम्पादन समितिको बैठक बोलाएको छु’ उहाँले भन्नुभयो, ‘त्यसबारे बैठकले निर्णय गर्नेछ । संविधानको धारा १६८ को ५ अनुसार सरकार निर्माणमा सहभागी भएवापत संसदीय दलको ह्वीप नलागे पनि पार्टीको अनुशासन लाग्छ ।’ आफ्नो गलत क्रियाकलापलाई सुधार नगरे पार्टीको नीति र अनुशासन उल्लंघन गरेकोमा पार्टीले कार्वाही गर्ने उहाँले दावी गर्नुभयो ।























