उर्लाबारी । मोरङको उर्लाबारी–३ मंगलबारेमा शाखा कार्यालय रहेको प्राईम कर्मसियल बैंकले दशंैको मुखमै सामाजिक सुरक्षा भत्ता वितरण रोकेको छ ।
उर्लाबारी नगरपालिका–२ र ३ का करिब २ हजार भन्दा बढी सामाजिक सुरक्षा भत्ता थाप्दै आएका स्थानीयहरु बैंकले भत्ता वितरण नगर्दा मर्कामा परेका हुन् । आर्थिक अवस्था कमजोर भएका र सामाजिक सुरक्षा भत्ताकै रकमले दशैं मनाउन तयार भएका स्थानीयहरु बैंकले समय अभावको कारण देखाउँदै रकम निकासा नगरेपछि मर्कामा परेको उर्लाबारी–३ की मनमाया दाहालले बताउनुभयो ।
उर्लाबारीले नगरपालिकाले सामाजिक सुरक्षा वितरणका लागि गत शुक्रबार नै बैंक खातामा रकम दाखिला गरेपनि बैंकले २ वटा वडाको समाजिक सुरक्षा भत्ता वितरणको समय कम भएको भन्दै दशैंपछि मात्रै वितरण गर्ने तयारी गरेको जनाएको छ ।
बैकका शाखा प्रमुख रोशिस बुढाथोकीका अनुसार नगरपालिकाबाट प्राप्त हुने रकम अघिल्लो साता प्राप्त भएपनि २ वटा वडामा सामाजिक सुरक्षा भत्ता वितरण गर्न करिब २ साता लाग्ने भएका कारण समय अभावले वितरण गर्न सकेनौं, दशैंपछि गछौँ ।’
यता वडाका नागरिकले प्राप्त गर्ने सामाजिक सुरक्षा भत्ता रोकिएको बारेमा वडा नं. ३ का अध्यक्ष भीष्मराज बुढाथोकीले बैंकले समय थोरै भएर वितरण गर्न नसक्ने जानकारी गराएको बताउनुभएको छ । यद्यपी उर्लाबारीका अन्य वडाका नागरिकले भने सम्वधित बैंकबाट शुक्रबारसम्म सामाजिक सुरक्षा भत्ता लिन पाउने छन् ।























