उर्लाबारी । आउँदै गरेको नेपालीहरुको महान् चाडपर्वलाई लक्षित गरी इलाका प्रहरी कार्यालय उर्लाबारीले सुरक्षा व्यवस्था कडा बनाउने भएको छ ।
मुख्य गरी दशैं, तिहार र छठ पर्वको समयमा उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाउँपालिकामा हुनसक्ने घटनालाइ मध्यनजर गर्दै मुख्य चौक चौकमा प्रहरी परिचालन तथा मोबाइल गस्ती र मोटरसाईकल गस्ती गरिने भएको हो । उर्लाबारीको मुख्य चौक, स्कुलडाँडा, बरगाछी, हाटखोला, आईतबारे, मंगलबारे, दुर्गापुरी तथा मिक्लाजङ गाउँपालिकाको मधुमल्ला, टाँडी लगायतका १५ स्थानमा प्रहरीको गस्ती टोली र सादा पोशाकमा पनि प्रहरी परिचालन गरिने प्रहरी निरीक्षक देबेन्द्र दासले जानकारी दिनुभयो ।
चाडपर्वहरुमा नागरिकको स्वतन्त्रता, धार्मिक तथा साँस्कृतिक आस्था, धनजनको सुरक्षा, उपभोक्ताको अधिकार, बिभिन्न बैँक तथा बित्तिय संस्थाको सुरक्षा, महिला बालबालिका एबम् जेष्ठ
नागरिकहरुको अधिकारको सम्मान गर्दै उर्लाबारी र मिक्लाजुङ भरिको सुरक्षा व्यवस्थालाई मजबुद बनाइएको उहाँको भनाइ छ । चाडपर्वको समयमा उर्लाबारी र मिक्लाजुङमा
रहेका होटलहरुको निगरानी गर्दै रातको ९ बजेदेखि सञ्चालनमा रोक लगाईएको उहाँले बताउनुभयो ।
बैँक तथा बित्तिय संस्थाहरुमा हुने कारोबार सुरक्षित गराई देश तथा बिदेशबाट घर फर्कने र बिभिन्न गन्तब्यसम्म जाने यात्रुहरु समेतलाई पूर्ण सुरक्षाको प्रत्याभुति दिलाउन प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक दासले बताउनुभयो । अन्य कुनै अप्रिय घटना हुन नदिन दुरुस्त र योजनाबद्ध परिचालन, अनुगमन र नियन्त्रण आवश्यक भएकोले सुरक्षा योजना बनाई लागू गरिएको उहाँले दाबी गर्नुभयो । जुवातास नियन्त्रण, मादक पदार्थ बेचबिखन, निर्बाध रुपमा सवारी आवगमनका लागि २४ सै घण्टा गाडी र मोटरसाईकल परिचालन गरिएको प्रहरीले जनाएको छ ।























