दिपेन्द्रबहादुर विश्वकर्मा,मंगलबारे
मोरङको उर्लाबारी–२ मा रहेको बेतिनी सिमसार क्षेत्र पर्यटनको प्रमुख गन्तव्य बन्दै गएको छ ।
शान्त सुन्दर, एकान्त, हरियाली वातावरण, रमणीय पोखरीहरु , प्राकृतिक सुन्दरताले भरिपूर्ण स्थल भएकै कारण बेतिनी सिमसार क्षेत्र पर्यटनको प्रमुख गन्तब्य बन्दै गएको हो । विशेषगरि गर्मीयाममा सितल छहारी खोज्दै, जाडोयाममा सामूहिक वनभोजमा रमाउने, विभिन्न चार्डपर्वहरु तथा बिदाका दिनमा घुम्न आउनेहरु बालबालिका, युवायुवतीदेखि बुढापाकाहरुसम्मको घुँइचो लाग्ने गर्छ । उक्त स्थलको पहिलो विशेषता भनेको त्यहाँका टहरामा पाइने खाजा, पेयपदार्थ, सेकुवाका परिकारहरु लगायत हुन् । त्यसैकारण पनि साथीभाई, आफन्त, परिवारसँग मनोरञ्जन गर्नका लागि आन्तरिक पर्यटकहरु आउने गरेका छन् । सामुदायिक वनका कोषाध्यक्ष अर्जुन बास्तोलाका अनुसार बेतिनी सामुदायिक वन उपभोक्ता समूहको मातहतमा रहेको उक्त सिमसार क्षेत्रको विकासका निम्ति वनले नयाँ ढंगबाट विभिन्न योजनाहरुमा काम गरिरहेको छ । त्यसै अन्तर्गत सिमसार सौन्दर्यीकरणका निम्ति हाल सालै बृहत रुपमा विभिन्न प्रकारका फुलहरु, विरुवा रोप्नेलगायत कार्य गरिएको छ । घुम्न आएका पर्यटनहरुको सहजीकरणका निम्ति तीन ठाउँमा सार्वजनिक शौचालय, ठाउँ ठाउँमा परम्परागत आकर्षण डोकोका डस्बिनहरु, शुद्ध पिउने पानीका धाराहरु, चार वटा व्यवस्थित वनभोज स्थल , चार वटा आराम गर्ने चौतारी, तीन वडा बस्ने फलैचा, बालबालिका लागि बाल सामाग्रीसहितको बाल उद्यानजस्ता भौतिक संरचनाहरुको उचित ब्यवस्थापन गरिएको छ ।
सिमसार क्षेत्रमा व्यवसायिक रुपमा माछापालन समेत सुरु गरिएको छ । त्यस्तै, आगामी दिनका योजनाहरुमा बन्यजन्तु
संरक्षणका निम्ति भौतिक संरचना निर्माण भइसकेको छ भने अब सम्बन्धित निकायहरुसँग समन्वय गरेका प्रक्रिया अघि बढाइसकेको सचिब अरुणा थापाले जानकारी दिनुभयो ।
सिमसार प्रवेश शुल्क ३० रुपैयाँ, सवारी साधन पार्किङ शुल्क मोटरसाइकलका लागि २० रुपैयाँ, चार पाङ्ग्रे गाडीका लागि १ सय रुपैयाँ, सिमसार भित्रका पसलहरु, खाजाघर व्यवसायीहरुलाई दैनिक एक सय रुपैयाँका दरले रकम उठाउँदै आएको छ । वनका अध्यक्ष भीमबहादुर राईले स्थानीय सरकारको सहयोगमा हालको लागि डिपिआरको काम प्रक्रियामा रहेको बताउनुभयो ।
जनप्रतिनिधिहरुले सिमसार क्षेत्रलाई वेवास्ता गरेको गुनासो समेत उहाँले गर्नुभयो । सरोकारवालाहरुले नगरभित्रको गौरवको आयोजना अन्तर्गत लगानी गर्न अति आवश्यकता रहेको र नगरले आय श्रोतको माध्यम बनाउन सक्ने देखिन्छ । अध्यक्ष राईले आफ्नो कार्यकाल भरी कुनै कन्जुस्याइँ नगरी पृथक र नयाँ योजनाका साथ समितिको क्षमता अनुसार पर्यटन प्रबद्र्धनमा प्रविधिमैत्री कामहरुलाई जोड दिने बताउनुभएको छ ।























