उर्लाबारी । जब चारैतिर दशैंको रौनक सुरु हुन्छ पूर्वी तराईका आदिवासी सन्थाल बस्तीहरुमा विशेष किसिमको रौनक सुरु हुन्छ । सन्थाल नाचका बाजा गाजा सन्थाल बस्तीहरुमा बज्न थाल्छन् । दशैंका बेलामा सन्थाल समुदायका मानिसहरु मूरली झ्याम्टा लगायतका बाजा गाजा बोकेर नाच्ने गरेका छन् ।
प्रकृतिपूजक सन्थालहरू आदिकालदेखि नै हिन्दूहरूको चाड दशैं र तिहारको बेला दासाई नृत्यमा रमाउने गर्छन् । दशैं र तिहारको समयमा गाउँ–गाउँमा लाग्ने मेलामा सन्थाल समुदायका मानिसहरुको नाच प्रमुख आकर्षण हुने गरेको छ । सन्थाल नाच नभएको दशैं मेलामा कुनै रौनक हुँदैन भन्ने धेरै छन् ।
दशैंको दिन उर्लाबारी–८ र ९ मा पर्ने दुर्गापुरी बजारमा सन्थाल नृत्य देखाइएको छ । झापा र मोरङका प्राय सबै गाउँहरूमा सन्थालहरूले आफ्नो मौलिक सांस्कृतिक नृत्यहरु प्रर्दशन गर्ने गरेका छन् । उनीहरुको नृत्य कोजाग्रत पूर्णिमासम्म रहन्छ ।
पूर्वी तराईका आदिवासी सन्थाल समुदायका मानिसहरुको दशैं विशेष किसिमको हुने गरेको छ । उनीहरुले आफ्ना देउतालाई आफ्नो समुदायको मात्र होइन समग्र समाजकै भलाई होस भन्ने प्रार्थना गर्ने गरेका छन् । सन्थाल नृत्य आफ्नै जातीय भाषा, गाई जात्रे पहिरन, रङ्गीचङ्गी भाव भंगिमा रंगीन कमिज पञ्ची धोती जस्तो कपडा शिरमा मयूरको प्वाँख र ऐना तथा झुम्काले बनाएको फेटा लगाई, जीउमा कल्ली बाँधेर बाजागाजाको साथ एउटै ताल, सुरमा सामूहिक रूपमा छुट्टाछुट्टै समूहमा प्रस्तुत गरिन्छ । यस नृत्यमा नाच्नेहरू सबै पुरुष सन्थालहरू हुन्छन भने उनीहरूलाई आकर्षित गर्न जोस थप्न महिलाहरू पनि उत्तिकै सक्रिय हुन्छन् । नृत्य मध्य अवस्थामा महिलाहरूले बेलाबेलामा भुजा फ्याँक्ने गर्दछज् भने नाचीरहेका सन्थालहरू आफूलाई बहादुर सावित गर्न बिनाहात जमीनमाथि उडेका भुजा मुखैले खाने प्रयास गर्दछन् ।























