दिपेन्द्रबहादुर विश्वकर्मा

उर्लाबारी । मोरङको उर्लाबारी–३ कृष्ण चौकदेखि उर्लाबारी–२ को सुनझोडा सामुदायिक वनसम्म बनिन लागेको फोर लेन सडक गत असोज–७ गते शिलान्यास भएको थियो । आजसम्म ३८ दिन बितिसक्दा पनि निर्माणको कुनै काम सुरु हुन सकेको छैन ।
उक्त सडकको सुरुमा तोकिएको शिलान्यासमा पनि केही विवाद उत्पन्न भएको थियो । जसका कारण उक्त शिलान्यास उर्लाबारीका मेयर गंगाप्रसाद खरेलले रोक्नुभएको थियो । केही समयपछि सम्पूर्ण विवाद टुंगो लगाएर मुख्य कम्पनीको आधिकारिक ब्यक्ति , जनप्रतिनिधिहरु , प्राविधिकहरु , सब कन्ट्रक्सनका मुख्य प्रतिनिधि, स्थानीयलगायतको उपस्थितिमा मेयर खरेलले शिलान्यास गर्नुभएको थियो ।
वल्र्ड बैंकको सहयोगमा बनिन लागेको उक्त बाटोको कुल लागत ३६ करोड १२ लाख २४ हजार ३ सय ६१ रुपैयाँ भ्याटसहित रहेको छ । ईन्डियाको सि आइपिइएल हाइद्रवादको कम्पनीले ठेक्का पाएको छ भने उक्त कम्पनीले सम्पूर्ण काम गर्ने जिम्मा उर्लाबारी–३ मा रहेको तुम्रुक कन्ट्रक्सन दिएको छ । मार्च पाँच २०२३ मा सम्झौता भएको उक्त बाटो सम्झौता भएको मितिबाट दुई बर्ष अवधि भित्र सम्पन्न गर्नुपर्ने तोकिएको छ ।
नगरकै गौरवको आयोजना मध्येको एक बृहत आयोजनाको सूचीमा रहेको उक्त सडक तोकिएको समय सम्पन्न भएमा कृषि देखि पर्यटनसम्मको प्रचुर संभावना बोकेको वडाको विकासमा ठुलो टेवा पुग्ने छ । सडक शिलान्यास भएपछि केही मात्रामा आफ्नो जीवनशैली , दैनिकी, सेवासुविधायुक्त सडक प्रयोग गर्न पाउने भयौं भनेर दंग छन् । तर, पटक पटक विवादित भएको उक्त सडक शिलान्यास भएको महिनौं बितिसक्दा पनि काम सुरु हुने कुनै छाँटकाट नदेखिएपछि स्थानीयहरुको मुहारमा फेरि निराशापन छाउन थालेको छ ।
उक्त बिषयमा मेयर खरेलका अनुसार चाडपर्वका कारणले काम अघि बढ्न नसकेको हो । दशैं भन्दा अगाडि काम सुरु गर्ने योजना रहेता पनि केही प्राविधिक प्रक्रिया मिलाउन समय लागेको जानकारी मेयर खरेलले दिनुभएको छ । तिहार, छैठ पर्व पछाडि लगत्तै काम सुरु गर्ने उहाँले बताउनुभएको छ । यता ठेकेदार पक्षका अर्जुन तुम्रोकले प्रक्रिया पूरा नभएका कारण काम सुरु गर्न नसकेको बताउनुभएको छ । उहाँले प्रक्रिया पूरा हुन साथ कामले तीब्रता पाउने बताउनुभएको छ । समय अगाबै काम सम्पन्न गर्नेमा प्रतिबद्ध रहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय