सरोज बस्नेत
उर्लाबारी । उर्लाबारी खानेपानी तथा उपभोक्ता समूहले मोरङको उर्लाबारी नगरपालिकामा २०८३ सालभित्र सबैको घरघरमा शुद्ध खानेपानी पु¥याउने लक्ष्यका साथ काम अघि बढाएको छ ।
देशकै नमूना खानेपानी आयोजना बनाउने उद्देश्य अनुसारमा उर्लाबारी वडा नं. १ लक्ष्मीझार र उर्लाबारी–९ मा खानेपानी ट्याङ्की निर्माण भइरहेको छ भने उर्लाबारी–३ मा मंगलबारे र गुरुगोरखनाथ खानेपानी आयोजना रहेको छ । जसमध्ये मंगलबारे खानेपानी आयोजनाबाट उपभोक्ताहरुलाई शुद्ध खानेपानी वितरण भइरहेको छ । करिब ७ सय उपभोक्ताहरुलाई सो योजनाबाट पानी वितरण भइरहेको छ भने गुरुगोरखनाथमा ट्याङ्की मात्रै निर्माण भएको छ । त्यस्तै, उर्लाबारी वडा नं. २ मा खानेपानीको ट्याङ्की निर्माणका लागि प्रक्रिया अघि बढिसकेको उर्लाबारी खानेपानी तथा उपभोक्ता समूहका अध्यक्ष चिन्तामणि पौडेलले जानकारी दिनुभयो ।
त्यस्तै, उर्लाबारी–१ मा दोस्रो सह–लगानीमा खानेपानी ट्याङ्की निर्माण गरी उपभोक्ताहरुलाई पानी वितरण भइरहेको छ भने उर्लाबारी–६ मा पहिलो सह–लगानीमा ट्याङ्की निर्माण गरिएको छ । सो ट्याङ्कीबाट पनि उपभोक्ताहरुलाई शुद्ध पानी वितरण भइरहेको छ । उर्लाबारी–६ मै अर्को खानेपानी ट्याङ्की रहेको छ । सो ट्याङ्गीबाट पनि उपभोक्ताहरुले खानेपानी पाइरहेका छन् । त्यस्तै, उर्लाबारी–८ को अठियाबारीमा रहेको ट्याङ्कीबाट पनि खानेपानी वितरण भइरहेको छ भने सोही वडामा अर्को ट्याङ्की निर्माण भएपनि सञ्चालनमा छैन । उक्त ट्याङ्की मर्मत सम्भारसहित सञ्चालन गर्नु पर्ने अवस्था रहेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।
निर्माणधिन अवस्थामा रहेका ट्याङ्की र बनिसकेका ट्याङ्की सञ्चालन हुनसाथ उर्लाबारीसहित छिमेकी पालिकाहरुमा समेत शुद्ध खानेपानी वितरण गर्न सकिने अध्यक्ष पौडेलले बताउनुभयो । अहिले पनि उर्लाबारीको अलवा झापाको दमक–४ र १०, रतुवामाई–१० र पथरीशनिश्चरे–५ मा उर्लाबारी खानेपानीबाट पानी उपभोक्ताले प्रयोग गर्दै आएका छन् । ७ हजार ४ सय ५९ वटा धारा संख्या रहेको छ भने १९ हजार ५ सय ८९ घरधुरीमा शुद्ध पानी वितरण भइरहेको छ । कार्यक्षेत्रभित्र ३८.०८ प्रतिशत खानेपानी पुगेको छ । दैनिक पानी उत्पादन ५ हजार ४ सय २७ युनिट पानी उत्पादन भइरहेको छ भने ४ हजार ८ सय २१ युनिट पानी दैनिक वितरण भइरहेको छ । दैनिक व्यकवास ३ सय ६५ र लिकेज २ सय ४१ रहेको जनाइएको छ । उपभोक्ता ऋण १ करोड ८४ लाख ५५ हजार र नगर विकास कोषको ३ करोड ५४ लाख ४४ हजार २ सय रहेको छ । २०५३ बैशाखमा जिल्ला प्रशासन कार्यालय मोरङमा मेजर दलशेर राईको अग्रसरतामा उर्लाबारी खानेपानीको स्थापना भएको थियो । चौथो ग्रामीण खानेपानी आयोजना अन्तर्गत संस्था निर्माणको कार्य सुरु भई २०५५ साल कार्तिक २९ गते तत्कालिन आवास तथा भौतिक योजना मन्त्री राजेन्द्र श्रेष्ठले ट्याङ्कीको शिलान्यास गर्नुभएको थियो । २०५८ सालदेखि खानेपानीको पाइपलाइन विस्तारको कार्य सुरु भएको थियो । पाइपलाइनको काम सम्पन्न भएपछि २०५९ असार ७ गतेका दिन तत्कालिन खानेपानी विभागका महानिर्देशक हरिराम कोइरालाले २ करोड ८ लाख ७८ हजार १ सय ४५ रुपैयाँ बराबरको आयोजना उद्घाटन गरी उपभोक्ता समूहलाई हस्तान्तरण गरिएको थियो । २०५९ सालदेखि खानेपानी वितरण सुरु भएपछि कार्यसमिति सदस्य राजु बुढाथोकीलाई कार्यालय प्रमुखको जिम्मेवारी तोकेर कार्यालय ब्यवस्थापन तथा सञ्चालन कार्य सुरुवात गरिएको थियो । २०६२ सालमा फिल्टर प्लाण्ट जडान गरी निरन्तर गुणस्तरिय पानी २४ सै घण्टा उपभोक्ताहरुलाई वितरण गर्दै आएको छ । नेपालकै नमूना खानेपानी आयोजना बनाउने गरी काम तीब्र गतिमा अघि बढाएको अध्यक्ष पौडेलले जानकारी दिनुभएको छ । तीनै तहका सरकारबाट साथ र सहयोग पाएको खण्डमा देशकै नमूना खानेपानी योजना बन्ने उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय