उर्लाबारी । खानेपानीमन्त्री महिन्द्रराय यादवले सुकेको मूललाई संरक्षण गर्न तराईमा पोखरी खन्ने वा चुरे क्षेत्रमा ड्यामहरु बनाएर पानीलाई रिचार्ज गर्नु आवश्यक रहेको बताउनुभयो ।
मोरङको उर्लाबारीमा सोमबार उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई समितिको प्रथम र दोस्रो सह–लगानीको उद्घाटन गर्दै मन्त्री यादबले सो कुरा बताउनुभएको छ । उहाँले तत्काल पानीको मूललाई संरक्षण गर्नको लागि भौगोलिक अवस्थाले पहाड र चुरे क्षेत्रमा विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको औलाउनुभयो । मन्त्री यादवले आवश्यकता भन्दा धेरै पानी खर्च गर्ने पुरानो परम्परालाई छाडेर पानी वितरणलाई व्यवस्थित बनाउनुपर्ने बताउनुभयो । उहाँले तराई मधेसमा पानीको सतह घट्दै जानु र पहाडमा पानीका मुलहरु सुक्दै जाने समस्या दीर्घकालीन रुपमा समाधान गर्ने उपायको खोजीमा सरकार लागेको बताउनुभयो । मन्त्री यादवले खानोपानी, वन, भौतिक र सिँचाइ मन्त्रालयसहितको राष्ट्रिय खानेपानी समस्या समाधान कमिटी बनाएर समस्याको पहिचान गर्ने र यसको दीर्घकालीन समस्या समाधान गर्ने मुख्य उद्देश्य सरकारको रहेको बताउनुभयो । उहाँले बहुवर्षिय योजना बनाएर ठूला खोलाहरुबाट पानी वितरण प्रणालीमा ल्याउन सरकारले अनुसन्धान गरिहरको जानकारी दिनुभयो । सबै नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँच पु¥याउन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो । उहाँले संविधानमा स्वच्छ खानेपानी र सरसफाइ मौलिक हकमा भएको भन्दै यसलाई कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो । मन्त्री यादबले सन् २०३० सम्ममा सबै नेपालीको घरघरमा शुद्ध खानेपानी पु¥याउने अभियानमा सक्रियपूर्वक लागि परेको उल्लेख गर्नुभयो । अझैसम्म पनि डोकोमा पानी बोकेर लैजानु पर्ने बाध्यता रहेको बताउँदै त्यसको अन्त्य गर्दै सबै नेपालीलाई सन् २०३० सम्ममा शुद्ध खानेपानी वितरण गर्न सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । पानीका कारण मानिसमा विभिन्न रोगको प्रकोप फैलिरहेको र त्यसलाई निमूल बनाउन पनि मानव जीवनमा शुद्ध पानी अतिआवश्यक रहेको उहाँले बताउनुभयो । शुद्ध पानी खुवाउन विद्युतमा ५० प्रतिशत छुटको ब्यवस्था गरेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेल, नेकपा एमाले उर्लाबारीका अध्यक्ष गंगाप्रसाद बास्तोलालगायतले बोल्नुभएको छ । कार्यक्रम सञ्चालन सचिब मेघराज श्रीपालीले गर्नुभएको थियो भने स्वागत मन्तब्य सदस्य होम गौतमले राख्नुभएको थियो । कार्यक्रम समितिका अध्यक्ष चिन्तामणि पौडेलको सभापतित्वमा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय